टाउकोमा पानी जमेपछि शल्यक्रिया गरेका गायक प्रधान आजभोलि घरमै आराम गरिरहेका छन् । पछिल्लो समय सार्वजनिक कार्यक्रममा कमैमात्र देखिने बर्षीय गायक प्रेमध्वज प्रधान हरेक दिन बिहान ५ बजे उठेर पुजापाठ गर्छन् । घरभित्रै ३ वटा कोठा मिलाएर करिब ६ हजार पाईलाजति मर्निङवाक गरेपछि उनी २० मिनेटजति आफै योगा गर्छन् । एक घण्टा रियाज गरेर खाना खाने, पत्रपत्रिका पढ्ने,फेसबुक चलाउने गर्छन् भने दिउसो फिल्म,टिभी हेरेर समय कटाउछन् । उनी भेट्न आउने आफन्तहरुसँग भेटघाट गर्छन् भने बेलुका फेरि एकघण्टा रियाज गर्छन् ।
विं सं. १९९३ सालमा सिन्धुपाल्चोकको चौतारामा जन्मिएका गायक प्रधान आफ्नी आमाको प्रेरणाले सांगितिक क्षेत्रमा लागेको बताउछन् । सुरुवातमा गीत गाउन आमाबाटै सिकेपनि प्रधानको पारिवारिक वातावरण संगीतमय नै थियो । उनका जिजुबादेखि नै सांगितिक क्षेत्रलाई शोखको रुपमा लिने परिवार थियो । नेवार समुदाय भएपनि त्यसबेला आमा तुलाधर भएकाले गायक प्रधानका हजुरबुबाले छोराको अर्को विवाह गरिदिए । गायक प्रधान ६ महिनाको हुँदा कान्छीआमा भित्रिइन् भने वि.सं. २००१ सालमा आएर आमा र बुबाको डिभोर्स भयो । त्यसपछि सानै उमेरका प्रधान बुबा र आमा दुबैतिर पालैपालो बस्न थाले ।
उनकी आमा सानो छँदा राजा त्रिभुवनको पालामा नारायणहिटीमा बसेर गीतसंगितमा लागेकी थिइन् । त्यसैको प्रभावले पछि आफ्नो छोरो प्रेमध्वजलाई आमाले संगितप्रति प्रेरित गरिन् । उनले बिष्णुनिकेतनमा पढाई सुरुवात गरे । सो स्कुलका प्रिन्सिपल प्रेमबहादुर श्रेष्ठले त्यसबेला चिटिक्क परेका र सबैका प्रीय लाग्ने बालक गणेशध्वज प्रधानको नाम आफ्नै नामबाट ‘प्रेम’ झिकेर प्रेमध्वज राखिदिए । त्यसबेलादेखि गायक प्रधानको नाम गणेशध्वजबाट प्रेमध्वज भएको हो । शान्ती निकुञ्ज हुदै प्रौढशिक्षा निकेतनमा पढेका प्रधानले ०१० सालमा एलएलसी दिए । त्यो समयमा उनको लत सांगितिक क्षेत्रमा बसिसकेकाले पनि होला,उनी त्यसबेलाको एलएलसीमा फेल भए । २ बर्ष पढाईलाई रोकेर दिल्ली र बंबई घुम्न निस्किएका उनी पढ्नुपर्ने अनुभूति भएपछि फेरि काठमाण्डौ फर्किए । २०१३ सालमा पद्मोदयमा फेरि पढाईमा फर्किएर सेकेण्ड डिभिजनमा एलएलसी पास गरे ।
इन्जिनियर बनाउने बुबाको इच्छाअनुसार उनले आइएस्सी केहि समय पढेर छोडिदिए । आमा र बुबा छुट्टिएकाले उनले जागिर गरेर आमालाई पनि पाल्नैपर्ने थियो । आमाले पुतली बनाएर बेच्थिन् भने प्रेमध्वज रेडियो नेपालमा गीत गाएर केहि पैसा कमाउथे । रेडियो नेपालमा स्थायी जागिरको लागि प्रयास गरेपनि उनी सफल हुन सकेनन् । त्यसपछि अमेरिकन लाइब्रेरीको स्थायी जागिरे भए । त्यसबेला उनले बेलुकीको समयमा सरस्वती कलेजमा बिएसम्म पढे । त्यसबेला उनी फुर्सदको समयमा काठमाण्डौसम्म नै टिप्ने भारतीय रेडियोबाट हिन्दी गितहरु सुन्थे ।
वि. सं. २००९ सालमा उनले रेडियो नेपालबाट क श्रेणीमा स्वरपरिक्षा पास गरे । क श्रेणीमा पास गरेपछि उनले प्रत्येक महिना २ वटाजति गीत गाउथे । त्यसबेला दुईवटा गीत गाएवापत उनले २० रुपैया पाउथे र १९ रुपैया आमालाई दिएर एक रुपैया आफै राख्थे । त्यहि एक रुपैया पनि खर्च गर्ने ठाउँ हुन्नथ्यो । त्यसबेला होटल केहि थिएन । ०१४ सालमा एउटा रेकर्डिङ मिक्सचर रेडियो नेपालले डोनेसन पाएको थियो । त्यो भन्दा अघि जतिपनि कलाकारले गीत गाउँथे वा बाजा बजाउथे सबै लाइभ हुन्थ्यो र आफ्नो स्वर आफूले सुन्न पाउने थिएन । सोहिक्रममा नातीकाजीको संगितमा तारादेवी र गायक प्रेमध्वजको स्वरमा कवि भूपि शेरचनको शब्दमा रहेको ‘यो नेपाली शिर उचाली संसारमा लम्किन्छ’ बोलको पहिलो राष्ट्रिय गीत आफ्नै देशमा रेकर्ड भयो । त्यसपछि पनि नेपाली कलाकारले भारतमै गएर धेरै गीतहरु रेकर्ड गराउनुप¥यो । ०२० सालतिर गायक प्रधानले पनि केहि गीत भारतमै गएर रेकर्ड गराए । उनको बुबा बांघेमुढा र असनमा आमा बस्ने गर्थिन् । उनकी आमा डेरा सरेर अहिलेको विश्वज्योती हलको पछाडी सरेपछि आमाकै डेरामा गायक प्रधान गीत प्राक्टिस गर्थे । उनीसँगै गीत प्राक्टिस गर्न किरण खरेल,नारायणगोपाल,योगेश वैद्य लगायत अन्य कलाकार पुग्ने गर्थे ।
‘गोरेटो’, ‘घुम्तीमा नआउ है’,‘नमान लाज त्यसरीे’, ‘यो नानीको शिरैमा’, ‘तारा मात्र होइन तिमीलाई’,‘पर लैजाउ फूलहरु ’ लगायतका एकपछि अर्को लोकप्रीय गीतहरु गाएका गायक प्रधानले कति गीतहरु भारतमा रेकर्ड गरे भने पछि नेपालमै रेकर्डिङ स्टुडियो भइसकेपछि स्वदेशमै थुप्रै गीतहरु रेकर्ड गराए । उनले भारतीय गायीकाहरुसँग पनि गीत गाएका छन् । २००९ सालदेखि गीत गाउन सुरु गरेका गायक प्रधानले २०२३ सम्म धेरै गीत गाएपनि यो नेपाली शीर उचाली बाहेक सबै रेकर्ड भएर रहेनन् । २०२३ सालपछिकै गीत पनि आफुले ठ्याक्कै कति गाएँ भन्ने उनलाई थाहा छैन । यद्यपी आधुनिक गीत तीन सयभन्दा बढि,राष्ट्रिय गीत पचासवटाभन्दा बढि, भजन र करिब एक सयवटा नेवारी गीत गरी साँढे छ सयवटा जति गीत रेकर्ड रहेको गायक प्रधानको अनुमान छ । उनले सांगितिक क्षेत्र,अमेरिकन लाइब्रेरीको जागिर र बुवाबाट छुट्टिएकी आमाको हेरचाह र पालनपोषण गर्दागर्दै कुनै युवतीको प्रेममा परेनन् । हुन त उनलाई मन पराएर प्रस्ताव गर्नेहरु पनि केहि थिए । तर उनले त्यसलाई महत्व दिएनन् । त्यसपछि नाचघरमा एकल सांगितिक कार्यक्रम गर्नेदेखि काठमाण्डौ बाहिर केहि सांस्कृतिक कार्यक्रममा गएर पैसा संकलन गरे । लगत्तै घर बनाइसकेपछि आमाकै प्रस्तावअनुसार उनले वि. सं. २०२८ फागुन ६ गते विवाह गरे । गायक प्रधानका दुई छोरा छन् । उनका छोराबुहारी र नाती अमेरिकामै छन् भने अहिले आफ्नै घर काठमाण्डौको बागबजारमा गायक प्रधान श्रीमती र केहि सहयोगीको साथ दिनहरु कटाईरहेका छन् । अझैपनि उनी दैनिक दुईघण्टा आफूलाई मनपर्ने गीतहरु गुन्गुनाउछन् । गीत गाएर कहिल्यै नथाकेका गायक प्रधान भन्छन् –‘मेरो संगितसँग यति गहिरो प्रेम बसेको छ कि, अहिलेपनि गीत गाउँदा जवानीमै छु जस्तो लाग्छ ।’
