
काठमाडौं । गायक प्रकाश सपुतको गीत विवादमा कलाकार दीपकराज गिरीले मुख खोलेका छन् । उनले गीत आफुलाई मन परेको बताउदै गीत बन्द गर्न दवाव दिनु गलत भएको धारणा राखेका छन् ।
दीपकले सामाजिक सञ्जालमार्फत गीतले आफ्नो मन छोएको र धेरैको मन छाएको हुनुपर्ने बताए । ‘केही मानिस मौका यही हो भनेर माओवादी पार्टीलाई समूह बनाएरै सराप्न थालेको पनि देखे’ उनले भने, ‘कुन चाँहि पार्टीमा केही मानिसको रजाई र केही मानिसको हरि बिजोक छैन ?’
कुन दलका मान्छेले हाम्रो पार्टीमा त्यस्तो अवस्था छैन भनेर ठोकुवा गर्न सक्छ ? भन्दै प्रश्न गरेका दीपक अगाडि लेख्छन् ‘ उसैको विचारबाट आएको संविधानमा टेकेर राजनीति पनि गर्ने, अनि सत्तोसराप पनि उसैलाई गर्ने ?’
गायक सपुतले गीत ‘पीर’ मा दशबर्षे सशस्त्र द्वन्द्वका परिणामको केही हिस्सा समेटेर ल्याएपछि विवादमा परेको हो । गीतमा सपुतलाई स्वरमा साथ सम्झना भण्डारीले दिएकी छन् । प्रकाशकै गायन, लेखन, संगीत, परिकल्पना र निर्देशन रहेको गीत लिएर अहिले सामाजिक सञ्जालमा ठिक र बेठिकका अनेक बहस भइरहेको छ ।