काठमाण्डौ
मंसिर २२
संविधान संशोधन प्रस्तावको विरोधमा प्रतिपक्षी दलहरुले आजपनि संसद बैठक अवरुद्ध गरेका छन् । व्यवस्थापिका संसद भवन नयाँबानेश्वरमा आज बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहितका अन्य साना प्रतिपक्षी दलहरुले अवरुद्ध गरेका हुन् ।संसद अवरुद्ध गर्न प्रमुख प्रतिपक्षी दल एमालेलाई माले, राष्ट्रिय जनमोर्चा, नेमकिपाले साथ दिएका छन् ।
बैठक सुरु हुनेक्रममा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले विदेशीको डिजाइनमा संविधान संशोधन आएकोले यसलाई जसरी पनि रोक्नुपर्ने बताउनुभयो । संविधान संशोधन प्रस्तावलाई राष्ट्रघाती भन्दै नेता केसीले यसले मुलुकको अखण्डतामाथी गम्भिर आघात पु¥याउने बताउनुभयो । विपक्षी सांसदहरुले संविधान संशोधन राष्ट्रघाती र संविधान असफल बनाउने खेल भन्दै यसलाई रोक्न संसद् अवरोध गर्दै आएका छन् । सरकारले संविधान संशोधनका लागि संसद् सचिवालयमा विधेयक दर्ता गराए पनि अवरोधका कारण त्यसलाई संसदमा प्रवेश गराउन सकेको छैन । एमाले जसरी पनि त्यसलाई रोक्ने रणनीतिअनुसार अवरोधमा सक्रिय भएको छ । एमालेले संशोधन प्रस्ताव फिर्ता गर्नुपर्ने माग गरेको छ । विपक्षीको अवरोधले गर्दा संसद बैठक पर्सी शुक्रबार दिउसो ३ बजे बस्नेगरी स्थगित भएको छ ।
