काठमाण्डौ
मंसिर १५
कांग्रेस नेता खुमबहादुर खड्काको अगुवाइमा ‘सनातन हिन्दुराष्ट्रका लागि महाअभियान’ले राजधानीको कमलादीमा विशेष भेलाको आयोजना गरेको छ ।

नेपालमा हिन्दु राज्य निर्माणका लागि दबाब दिन भन्दै महाअभियानले सो भेलाको आयोजना गरेको हो । प्रज्ञाभवनमा आयोजित भेलामा सहभागी वक्ताहरुले नेपालमा धर्म निरपेक्षता जबरजस्ती लादिएकोले नेपालमा हिन्दु राज्य स्थापना गर्नुपर्नेमा जोड दिएका छन् । भेलामा काङ्ग्रेस नेता खड्काका साथै नेताहरु तारानाथ रानाभाट, लक्ष्मण घिमिरे, चिरञ्जीवि वाग्ले तथा अन्य दलका नेताहरु, विभिन्न पेसाकर्मी, पूर्व प्रशासकहरु, पूर्व सेनापति रुक्मांगद कटवाललगायत प्रहरी र नेपाली सेनाका अवकाशप्राप्त उच्च अधिकारीहरुको उपस्थिति थियो । समारोहमा बोल्ने अधिकांश वक्ताहरुले हिन्दु राज्य नभए धार्मिक विद्रोह हुने चेतावनी दिएका छन् ।
