काठमाण्डौ
भदौ १५
सरकारले आगामी असोज २ देखि ४ गतेसम्म विभिन्न कार्यक्रमको आयोजना गरी संविधान दिवस भव्यरुपमा मनाउने भएको छ । गतबर्ष असोज ३ गते संविधानसभाबाट संविधान घोषणा भएको एक बर्ष पुरा हुने अवसरमा सरकारले आगामी असोज २ र ३ गते विशेष कार्यक्रम गर्न लागेको हो ।

संविधान दिवस मुल समारोह समितीले आज गृह मन्त्रालयमा एक कार्यक्रमको आयोजना गरी असोज २ ,३ र४ गते आयोजना गरिने कार्यक्रम सार्वजनिक गरेको हो । मुल समारोह समितीका संयोजक एवं प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान दिवस भव्यताका साथ मनाइने जानकारी दिनुभयो । सरकारले आगामी असोज २ गते संविधान दिवस मनाउन सञ्चारमाध्यममार्फत सार्वजनिक अपिल गर्ने भएको छ । त्यस्तै राष्ट्रिय पत्रपत्रिकाबाट संविधान बिशेषांक तथा स्मारिका प्रकाशन गर्ने, संविधानको महत्वबारे रेडियो तथा टिभीहरुबाट कार्यक्रम गर्ने तथा साँझमा दिपावली गर्ने लगायतको कार्यक्रम सरकारले तय गरेको छ । त्यस्तै असोज ३ गते बिहान नेपाली सेनाद्धारा बिगुल बजाउने, तोप र बन्दुकको बढाईँ, शहिदहरुप्रति श्रद्धाञ्जली सभा कार्यक्रम गर्ने सरकारको तयारी छ । सोहि दिन संविधानका विविध पक्ष समेटिएको डकुमेन्ट्री नेपाल टेलिभिजनबाट प्रशारण गर्ने, अन्य सरकारी तथा निजी सञ्चारमाध्यमबाट समाचारमुलक सामग्री प्रशारण गर्ने तथा टुंडिखेलमा विशेष समारोहको आयोजना गर्ने कार्यक्रम संविधान दिवस मुल समारोह समितीले सार्वजनिक गरेको छ ।
संविधान दिवस मनाउने सिलसिलामा असोज ४ गते रेडियो नेपालबाट फूलबारी तथा लोक दोहोरी गीत सम्मेलनको आयोजना गर्ने, साँझ दीपावली गर्ने कार्यक्रम तय गरिएको छ ।
यसैबिच, नयाँ संविधानप्रति असन्तुष्ट मधेसी मोर्चा सहितको संघिय गठबन्धनले यसअघि नै असोज ३ लाइ कालो दिनका रुपमा मनाउने बताइसकेका छन् । यो परिस्थितीमा कोहि रमाएर ढ्याङ्ग्रो ठोक्न लाग्दा अर्कोतर्फ भने नयाँ संविधानप्रति नै धारेहात लगाउनेहरु पनि देखिने भएका छन् ।
