गायक एवं मोडल नारायण राईसँग संगत गर्नेहरुले उहाँसँग हाँस्यकलाकारको लक्षण देख्ने गर्छन् । यद्यपी गायनलाई आफ्नो मुख्य रुचीको विषय बनाउदै दर्जनौ गीत,जसमध्येपनि आधुनिक,लोकदोहोरी गीतमा स्वर दिइसकेका गायक राईको स्वर सुन्नेहरुले एक परिपक्व गायकी भेट्छन् उहाँको स्वरमा । गाउनेमात्र नभई केहि गीतको म्युजिक भिडियोमा समेत अभिनय गरिसकेका उनै हसिलो अनि चटपटे गायक नारायण राईसँग गरेको कुराकानी तपाईको बिचमा

स्वागत छ, सञ्चो बिसञ्चो ?
धन्यवाद, आराम छु,दशैँ लागिरहेको छ ।
जन्म कहाँ र कहिले भयो तपाईको ?
ओखलढुङ्गाको वाक्सा गाविसमा २०४२ साल मंसिर २८ गते जन्मिएको हुँ म ।
बाल्यकाल सम्झिनुस् ?
बाल्यकाल सबैलाई रमाइलो लाग्छ । उहि हो ग्रामिण परिवेश, चप्पलबिनाको खुट्टा घाँसको भारी अनि दिउसो विद्यालय जानुपर्ने यस्तै थियो ।
कस्तो परिवारमा हुर्किनुभयो ?
निम्न मध्यमवर्गीय परिवारमा हुर्किएँ ।
भनेपछि दुःखको अनुभव छ हसिलो नारायण राईसँग ?
पक्कै छ । काठमाण्डौ आएपछि पनि सांगितिक क्षेत्रमा अगाडी बढ्नका लागि बालुवा,ईट्टा, गिट्टी बोक्नेदेखि खाली पेट बसेको अनुभव टन्नै छ । सिरक नओछ्याउनु र डस्ना नओढ्नु भन्छन् । तर मैले डस्ना ओढेर धेरै रात कटाएँ कुनैदिन ।
दाजुभाई दिदीबहिनी परिवारमा ?
७ जना दाजुभाई र १ जना दिदीगरी ८ जना हामी । म साईलो ।
बाल्यकालदेखि संगितमै रुची थियो कि ?
हो, म बाल्यकालदेखि गीत गाउथेँ ।

पहिलोचोटी गित रेकर्ड कहिले गर्नुभयो ?
२०६१ साल मंसिर १६ गते चर्खा चलाई भन्ने बोलको गीत थियो । अन्य गायकगायीका साथीहरुसँग गीत रेकर्ड गरियो ।
अहिलेसम्म कति गीत गाउनुभयो ?
मैले २५ वटा भन्दा बढि लोकदोहोरी गीत गाएको छु भने करिब १० वटा आधुनिक गीत गाएको छु ।
कस्तो गीत बढि गाउनुहुन्छ ?
त्यहि हो, मायाप्रेम तथा अन्य भाव बोकेका गीतहरु गाइरहेको छु । लोकदोहोरी गीतमा पछिल्लो समय उच्छृङ्खल शव्द अर्थात यो छाडापन भयो भन्ने आरोप लाग्नथालेदेखि मैले अरुको लोकदोहोरी गाइँन । कहिलेकाहीँ आफ्नै गीतहरु गाउदै छु । आधुनिक गीतपनि गाउदै छु अनि साइड जब गर्दैपनि छु ।
आफ्नो कि अरुको गीतमा अभिनय गर्नुहुन्छ ?
आफ्नोमा बाध्य भएर अहिलेसम्म २ वटा गीतमा अभिनय गरेको छु । किनकी म आफ्नो गीतमा अर्कैलाई अभिनय गराउने पक्षमा छु । कहिलेकाही आफुले रोजेको मोडेलको समय नमिल्दा आफै नाच्ने गरेको छु । अरुकोमा पनि आफुलाई मनपर्ने गीत भयो भने अभिनय गर्दै आएको छु ।

तपाई त गायक र मोडल पनि । केटी कति पछि लाग्छन् ?
त्यस्तो खासै छैन । हल्काफुल्का त जसको पनि हुन्छन् । तपाईको स्वर मन प¥यो भन्दै फोन गर्नेहरु पनि हुन्छन् । तर त्यति धेरै चासो दिने समय मसँग हुदैन ।
अहिलेसम्म प्रेमपत्र लेख्ने दिने वा आउनेक्रम रह्यो कि ?
त्यस्तो लभलेटर लेख्ने नै त भएन । बरु ३ कक्षा पढ्दा एउटीलाई खुबै मन पराएको थिँए । सानै उमेरमा तर पछि हामी एक हुन सकेनौँ । ५ कक्षा पढ्दैगर्दा अर्कीसँग हल्का लभ प¥यो । यस्तै हो । खासै गहिरो मायाप्रेममा डुबिएन । एउटा केटीमान्छेको साथ आवश्यक पर्छ जस्तो मलाई लाग्छ जीवनमा ।
सांगितिक क्षेत्रमा अघि बढ्न पारिवारिक साथ सहयोग कस्तो रह्यो तपाईको जीवनमा ?
पारिवारिक साथ सहयोग रहेन यो क्षेत्रमा । आफ्नै प्रयासमा यहाँसम्म आइपुगेको हुँ ।
नेपालको सांगितिक अवस्था कस्तो पाउनुहुन्छ ?
छेपारोको पुच्छर माथीबाट तल खिइदै गरेजस्तो देख्छु । किनकी बहुप्रतिभासाली व्यक्तिहरु टिक्न सक्दैनन् । आर्थिकरुपमा सांगितीककर्मी एकादुई बाहेक सबै सवल बन्ने बाटो यो क्षेत्रबाट हुदैन । जे होस् नयाँ पुस्ताका भाइबहिनीहरु पनि हौसिरहेका छन् ।उनीहरुको जोस देखेर राम्रो होला भन्ने लाग्छ ।
धन्यवाद ।
यहाँलाई र हरेकन्युज डट कम परिवारलाई पनि धन्यवाद ।
