काठमाण्डौ
असोज १६
केशव राई नेपाली चलचित्र क्षेत्र तथा अभिनय,कलाक्षेत्रको एक सशक्त नाम हो। अभिनेता एवं चलचित्र निर्माता केशव राईसँग अभिनय क्षेत्रको अभिरुचीदेखि अभ्यास,आरम्भ,यात्रा र सफलताका खुड्किलामा टेकिरहँदाको क्षणबारे कुरा गरेका छौँ । प्रस्तुत छ, उनी लोभलाग्दो व्यक्तित्वका धनी अभिनेता राईसँग हरेकन्युजकर्मीले गरेको कुराकानी

स्वागत छ, व्यस्त केमा हुनुहुन्छ ?
धन्यवाद, चलचित्रहरुमा अभिनय तथा नाटकहरुमै व्यस्त छु ।
तपाई अभिनय क्षेत्रमा लागेको कति भयो ?
ठूलो पर्दामै खेल्न थालेको करिब ७ बर्ष भयो,यद्यपी गाँउघरदेखि नै नाटक लगायतका विभिन्न कलाकारिताको क्षेत्रमा संलग्न थिएँ ।
अभिनय कसरी सिक्नुभयो ?
अभिनय भन्ने कुरा कतिपय आफ्नो मन र ज्ञानले पनि परिकल्पना गरेर सिक्ने कुरा हो । तैपनि औपचारिक रुपमा मैले एक्टर स्टुडियोबाट सिकेको हुँ । म एक्टर स्टुडियोको सेकेण्ड ब्याज हुँ । जहाँबाट सिक्ने कतिपय कलाकर्मीहरु चलचित्र क्षेत्रमा प्रतिष्ठित छन् ।
पहिले गाउँमा नाटक थुप्रै खेल्नुभयो कि ?
खेलियो नि, थुप्रै बाँस खेर फालियो नि, बाँस काट्यो स्टुडियो बनायो अनि घरघरको तन्दा बटुल्यो अनि पर्दा बनाएर पनि नाटक खेलियो । तन्दाको पर्दा तानेर क्लोज गर्न दुइजना खडा हुनुपथ्र्यो । यसरी समेत अभिनय सिक्न मेहनत गरियो ।
नाटकमा तपाईको भूमिका कस्तो हुन्थ्यो ?
विशेषगरी मेरो कमेडी रोल हुन्थ्यो । कमेडी र कोरियोग्राफको जिम्मा मेरो हुन्थ्यो ।
भनेपछि त्यसबेला देखि नै फिल्मको हिरो बन्ने लक्ष्य थियो तपाइको ?
काँ हुनु नि,त्यसबेला राजेश हमालहरुले अभिनय गरेको देख्दा अचम्म लाग्थ्यो,तैपनि पहिले गाँउदेखि नै तिमी राम्रो अभिनय गर्छौ भनेर अरुले सुझाव दिन्थे । पछि काठमाण्डौ आएर अभिनय सिकौँ न त भन्ने लाग्यो । त्यसपछि एउटा कलाकेन्द्रमा गएँ । त्यहाँ मलाई राजेश हमालको अभिनय गर्न लगाइयो । मैले त्यसबेला म राजेश हमाल हुन आएको होइन,केशव राई बन्न आएको हुँ भनेँ । त्यसबेला अभिनय गर्न सक्दैनस् भनेर मलाई सहभागी गराइएन । खास मैले अभिनयको भित्री कुरो के हो ? अभिनयको यात्रा कसरी हुन्छ ? यस्तै कुरा सिक्न खोजेको थिएँ । पछि क्याम्पसमा राजनीति पनि गरियो । बानेश्वर क्याम्पसको स्ववियु उपसभापति समेत भएँ । केहि समयपछि एक्टर स्टुडियोमा पुँगे । जुनठाउँ मेरो मनले खोजेको ठाँउ रहेछ । त्यहिबाट अभिनय सिकेँ ।
पहिलोपटक ठूलो पर्दामा कुनबाट पाइला टेक्नुभयो ?
मैले टलकजंग भर्सेज टुल्के नाटक गर्दै रंगमञ्चमा आएँ । त्यसपछि ब्रोकन विङ्स भन्ने चलचित्रमा मुख्य भूमिकामा अभिनय गरेँ । त्यसपछि कारण नामको चलचित्र पनि खेलियो । अहिलेसम्म करिब १३ वटा चलचित्र अभिनय गरेँ । निखिल उप्रेतीको भैरवमा पनि अभिनय गरेँ । मेरो आफ्नै परिकल्पनामा आफ्नै लगानीमा मतान नामक चलचित्र बनाएँ । जसले २०१५ को सर्वोत्कृष्ट चलचित्र अवार्ड प्राप्त गर्न सफल भयो । अहिले मेरै गुरु अनुप बरालको निर्देशनमा दोख भन्ने चलचित्रको सुटिङ सकियो । त्यसमा अभिनय गरेको छु ।

केहि समयअघि मात्रै तपाईले थाङ्ला नामक नाटकमा अभिनय गर्नुभयो । त्यो नाटक करिब १७ बर्षपनि पुनः मञ्चन भएको हो । हिमाली क्षेत्रसँग सम्बन्धित थियो । कस्तो रह्यो ?
रमाइलो त खुबै रमाइलो भयो । राम्रैसँग आफुले पाएको पात्रको भूमिका निर्वाह गरेँ भन्ने लाग्छ । उपल्लो मुस्ताङको समाजको चालचलन,भाषामा डुब्नुपर्ने थियो । मेहेनत गरियो । रमाइलो भयो ।

अब, अझै बढी रोचक कुरा गरौँ,ह्याण्ड्सम हुनुहुन्छ,कलाकार मान्छे, केटी कति पछि लाग्छन् ?
(हाँस्दै) केटी साथीहरु त हुन्छन् नै ,तपाईको फ्यान भन्दै आउछन् । तर गहिरोरुपमा उनीहरुसँग मायाप्रेमका कुरा अगाडी बढाउने भन्ने कुरा भएको छैन ।
तत्कालका योजना के छन् तपाईका ?
तत्काल अब दिपेन्द्र लामा निर्देशित चलचित्र घामपानीको सुटिङ हुदैछ । त्यसपछि निखिल उप्रेती दाईहरुले रुद्र भन्ने बनाउदै हुनुहुन्छ । त्यसमा पनि व्यस्त हुन्छु । अहिले चारपाँच वटा चलचित्र छन् । आफैले बनाएको मतान चलचित्रको प्रिमियर सो तर्फपनि कुद्नुपर्नेछ ।
आगामी दिनमा अझ सफलतको शुभकामना ।
धन्यवाद तपाई लगायत सम्पूर्ण पाठक,दर्शकहरुलाई । आउदै गरेको बिजयादशमीको शुभकामना ।

