भोगटेलाई फुटबल बनाएर खेल्दै हुर्केका राप्रपाका नेता श्याम बहादुर खड्का


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ मंसिर ११ शनिवार ११:४५ बजे

भोगटेलाई फुटबल बनाएर खेल्दै हुर्केका राप्रपाका नेता श्याम बहादुर खड्का

काठमाण्डौ
मंसिर ११

राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सदस्य श्याम बहादुर खड्का एकजना कुशल राजनीतिज्ञका साथै सफल व्यवसायी तथा समाजसेवी पनि हुनुहुन्छ । राप्रपा नेपाल र राप्रपाबिच पार्टी एकिकरण भएपछि झन् उहाँ राजनीतिक परामर्श र छलफलमा व्यस्त हुनुहुन्छ । उहाँको राजनीतिक जीवन,व्यवसायीक जीवन लगायतबारे हरेकन्युजकर्मीले गरेको कुराकानी –

01

    स्वागत छ सर यहाँलाई
धन्यवाद ।

    व्यस्त के मा  हुनुहुन्छ आजभोलि ?
विशेषगरी राजनीतिक क्रियाकलापको साथै व्यवसायीक जीवन पनि अगाडी बढाइरहेको छु । विशेषगरी बर्षौदेखि खड्का नर्सरी सञ्चालन गर्दै आएको छु । परिवारका अन्य सदस्य व्यवसायमा व्यस्त हुन्छन् म भने संरक्षकको रुपमा सहयोग गर्दै आएको छु ।

    यहाँको जन्म कहाँ भएको हो ? बाल्यकाल कसरी बिताउनुभयो ?
काठमाण्डौकै महाराजगंज वडा नम्बर ४ मा म विं सं. २००८ साल साउनमा भएको हो । म ६ बर्षको उमेरको हुँदा मेरो पिताको स्वर्गारोहण भयो । मेरो माताको पालनपोषणमा ठूलो कष्टका साथ मेरो बाल्यकाल बित्यो । दुःखसुःख भोग्दै म हुर्किएको हुँ ।

    कुन सन्तानको रुपमा यहाँको जन्म भयो ?
म माइलो छोरोको रुपमा जन्मिएको हुँ । हामी ३ जना दाजुभाई छौँ । कान्छी बहिनी छिन् । काठमाण्डौमै हुर्किएतापनि दुःख नै थियो । काठमाण्डौ आफैमा त्यो समय कृषिमा आधारित हुनुपर्ने अवस्था थियो । समय बद्लिएर अहिले काठमाण्डौमा खाली जग्गा भेट्न मुस्किल छ । त्यसबेला काठमाण्डौमा तरकारी आफ्नै घरआँगनमा उत्पादन हुन्थ्यो ।

    बाल्यकालको स्वभावचाँहि कस्तो थियो ?
वास्तवमा भन्ने हो भने अहिलेसम्म पनि कसैलाई दुःख नदिऊँ भन्ने छ । आफू बाचौँ र अरुलाई पनि बचाऔँ भन्ने भावना छ । त्यसबेला पनि कोहिसँग झैझगडा रिसराग भएन ।

    पढाईबाहेक के मा रुची थियो यहाँको ?
बाल्यकालमा मेरो रुची फुटबलमा थियो । भोगटेलाई बल बनाएर समेत हामी फुटबल खेल्थ्यौँ । पारिवारिक जिम्मेवारी र अन्य कारणले समेत फुटबललाई व्यवसायीकता दिन सकिएन । कहिलेकाँही फिल्म हेर्न गइन्थ्यो । त्यसबेला फिल्म हल समेत कम थिए ।

    कस्तो परिवारमा हुर्किनुभयो ? उच्च, मध्यम वा निम्न ?
त्यसबेला पनि हाम्रो परिवार मध्यमबर्गीय नै थियो । खान लाउन दुःख भन्ने कुरा त थिएन । यद्यपी सानै उमेरदेखि पिता गुमाउनुपर्दाको पिडा, अभिभावक नहुँदाको अवस्थामा दुःख त हुने नै भयो । यतिबेला पनि मेरो परिवारको आर्थिक अवस्था मध्यमबर्गीय छ ।

    यहाँको जीवनमा, प्रेमी प्रमिकाबिच हुने प्रेम प्रसंग कसरी लागु हुन्छ ?
हेर्नुस्, त्यसबेला अहिलेको जस्तो सुचनाप्रविधीको विकास थिएन । सञ्चारको विकास थिएन । मोबाईल फोन थिएन । समाज समेत अहिलेको भन्दा वास्तवमै शुसभ्य थियो । त्यसबेला कोहिसँग नजिक भइए पनि केवल जीवनलाई कसरी अगाडी बढाउने,कसरी राम्रो काम गर्ने भन्नेजस्ता गम्भिर कुराकानी हुन्थे । त्यसबेला अहिलेको जस्तो पार्क,रेष्टुरेन्ट थिएन । जहाँ पायो त्यहिँ भेटौँ भन्ने परिस्थिति थिएन ।
    वैवाहिक जीवनमा चाँहि कसरी गासिनुभयो ?
मैले मागी विवाह नै गरेको हुँ । ममीको सल्लाहबमोजिम पारीवारिक सरसल्लाहमै २०३० सालमा विवाह भएको हो ।

    परिवारमा को को हुनुहुन्छ ?
मेरो २ जना छोरा र एकजना छोरी छन् । विशेष कारणबश मेरो २ वटा विवाह भयो ।
    त्यसपछि कसरी जीवन अगाडी बढाउनुभयो ?
त्यसपछि व्यवसायीक जीवनसमेत अगाडी बढाइयो । तत्कालिन् श्री ५ सरकारको सेवामा समेत म कार्यरत थिएँ ।

    खड्का नर्सरी सञ्चालनमा आएको कति भयो सर ?
करिब २० बर्ष भयो । त्यसबेला नर्सरी कम थियो । यो व्यवसाय निकै राम्रो पनि हुन्छ । समाजसेवा पनि यसमा जोडिन्छ,वातावरण जोगाउने काम समेत हुन्छ । जीवनसँग फूलको सम्बन्ध निकट हुन्छ,घनिष्ट हुन्छ,आत्मीय हुन्छ । करिब २५÷३० जनालाई हामीले रोजगारी दिएका छौँ । यस नर्सरीमा धेरै नै विभिन्न बोटविरुवा,औषधीजन्य बोटविरुवादेखि सिजनेवल फूलहरु समेत यहाँ पाइन्छ । हामी कोलकत्ता,दार्जिलिङबाट समेत आउछ फूलहरु,बोटविरुवा र हामी त्यहाँ पनि निर्यात गर्छौँ । देशका अन्य ठाँउमा निर्यात गर्छौँ ।

    अब राजनीतिको कुरा गरौँ । राजनीतिमा रुची कहिलेदेखि थियो ?
मेरो पहिलेदेखि नै राजनीतिमा रुची थियो । राजनीति देशविकासको एउटा आधार हो । म राजनीतिमा बढी नै सक्रियरुपमा लागेको भनेको पछिल्लो समयमा हो । किनकी नेपालमा धर्म हुनुपर्छ,राजा हुनुपर्छ,अखण्ड देश हुनुपर्छ भन्ने पक्षमा म छु । त्यसैले विंस. २०६२÷६३ सालको आन्दोलनपछि कमल थापाबाट गठित राप्रपा नेपालमा म आवद्ध भएँ ।

अहिले भने राप्रपा र राप्रपा नेपालबिच एकिकरण भइसकेको छ र पार्टीको नाम राप्रपा भएको छ । नेपालमा संघियताको कुरा धर्मनिरपेक्षताको कुरा ल्याएर नेपालको पहिचान, परम्परा धरापमा पार्ने काम भएको छ । किनकी पृथ्वीनारायण शाहले एकिकरण गरेको यो मुलुकलाई संघियताको नाममा टुंक्र्याउने काम हुदैछ । नेपाल सनातन् हिन्दुराष्ट्र नै हुनुपर्छ भन्ने मान्यताका साथ हामी अघि बढिरहेका छौँ ।

111

    तपाई राप्रपाको एक प्रभावशाली नेता हुनुहुन्छ, अब देशको राजनीती कता जान्छहोला ?अन्त्यमा के भन्नुहुन्छ ?
हामी जनताकै लागी राजनीतिमा लागेका हुन्छौँ । देशविकासकै लागि लागेका हुन्छौँ । तर ठूला भनिएका राजनीतिक दलले आफ्नै हितको लागि डम्फू बजाइरहेका छन् । जनताप्रति नै बफादारी भएर राजनीतिलाई अगाडी बढाउन सके देश विकास हुने छ । आर्थिक समृद्धि हुनेछ । विशेषगरी जनताकै पक्षमा काम गर्न भनेर हामी दुई पार्टी एक भएका छौँ । हामी निरन्तर जनताको पक्षमा लाग्नेछौँ ।

    महत्वपूर्ण समय दिनुभयो, यहाँलाई धन्यवाद ।
धन्यवाद तपाईको सम्पूर्ण टिमलाई । धन्यवाद ।


प्रतिक्रिया

सम्बन्धित समाचार