गायक हेमन्त रानासँग ‘साईली’ सँगको प्रेम बारे छलफल


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७७ जेठ २ शुक्रवार ०३:४५ बजे

गायक हेमन्त रानासँग ‘साईली’ सँगको प्रेम बारे छलफल

‘साईली’ धेरै लोकप्रीय गीत हो, मेहेनत कति गर्नुभएको थियो ?

मेहनत भनेर दिनरात लागिएन । मैले एकदुई टेकमै गाएको गीत हो यो । मलाई यो गीत गाउँदा खासै गाह्रो भएन । पुरै फिलिङ्समा डुबेर गाएँ । व्यवसायीक रुपमा गाउने जिम्मेवारी आएको नभनी मैले आफ्नै गीत सम्झिएँ । कालीप्रसादजीले फाइनल कम्पोज गरिरहँदा कस्तो राम्रो रैछ भन्नुभयो ।

यो गीत चर्चामा आउनुमा स्वरबाहेक शब्द र संगीतमध्ये कुनको बढी भूमिका देख्नुहुन्छ ?

दुवैको भूमिका महत्वपूर्ण छ । संगीत कालीप्रसादको र शब्द पनि उहाँ र हिमाल साउदको हो । यो गीत लोकप्रिय बन्नुमा शब्द र संगीतको भूमिका बराबर छ ।

 

म्युजिक भिडियो र गीतमध्ये कुन बढी सशक्त मान्नुहुन्छ ?

गीत नै बढी शसक्त हो । म्युजिक भिडियो पनि कम छ भन्न खोजेको त होइन, त्यैपनि गीतलाई ६० र यसको भिडियोलाई ४० प्रतिशत ठान्छु । किनभने यसको भिडियो सार्वजनिक हुनुअघि लिरिकल भिडियोमा पनि राम्रो भ्युअर्स थिए । अझ लोकप्रिय र स्थापित कलाकारहरुको अभिनय रहेको भिडियो सार्वजनिक भएपछि त्यो झनै चर्चामा आयो । व्यवसायीक कलाकारको अभिनयले बनेको यो गीतको भिडियोले गीतलाई सतप्रतिशत न्याय गरेको छ ।

 

गाउनेक्रममा यो गीतले यतिधेरै चर्चा कमाउला भन्ने लागेको थियो ?

सोचेको थिइनँ । कुनैपनि कलाकारलाई आफूले गाएको गीत होस् वा प्रस्तुत गरेको कलाले लोकप्रियता कमाइदिए हुन्थ्यो भन्ने त लागिहाल्छ नि । स्रोता, दर्शकले मन पराउनुहुन्छ भन्नेमा विस्वस्त थिएँ । तर छोटो समयमा नै यतिधेरै लोकप्रियता कमाउला भन्ने लागेको थिएन ।

 

कालीप्रसाद बास्कोटासँग तपाईको जोडी जमेको हो ?
कालीप्रसादजीले मसँग मात्र होइन, उहाँले अरुसँग गरेका धेरै काम सफल र लोकप्रिय भएका छन् । उहाँको अन्य धेरै गीतसंगीत बहुचर्चित भए । संयोग के प¥यो भने मेरो अर्को लोकप्रिय गीत ‘लैजारे’ को शब्द संगीत उहाँकै हो । उहाँसँगको दोस्रो काम हो यो ।

 

तपाई आफ्नो पहिलो टर्निङ प्वाईन्ट कुन गीतलाई लिनुहुन्छ ?
‘लैजारे’ नै हो । हुन त त्यसभन्दा अघि मैले सन् २००६ मा पाप पुण्य भन्ने एल्वम निकालिसकेको थिएँ । त्यो एल्वम त्यतिधेरै चर्चामा आएन ।

 

‘लैजारे’ पछिको चर्चित साइली नै हो ?
होइन । मैले यो बीचमा आकाश एल्वम ल्याएँ । त्यसको गीतहरु पनि अडियन्सले मन पराइदिनुभयो । त्यसबाहेक पनि धेरै चलचित्रमा गीत गाएँ । यी दुईबाहेक अरु गीतहरु पनि अडियन्सले मन पराएका छन् ।

 

चर्चा कमाएसँगै चुनौति कति थपिदोरहेछ ?
चुनौति थपिन्छ नि । लैजारे गाइसकेपछि नै ममाथि चुनौति थपिएको अनुभूति भएको थियो । चर्चा कमाउनुमात्र ठूलो कुरा होइन, अडियन्सलाई मन पर्ने गीत दिइरहन सक्नु ठूलो कुरा हो । लोकप्रियता सँगै अझ धेरै गर्नुपर्छ भन्ने जिम्मेवारी कलाकारमा थपिदोरहेछ ।

 

आफूलाई कस्तो कलाकार ठान्नुहुन्छ ?
नर्मल ठान्छु । अझै संघर्षको पिरियडमा छु ।

 

कस्तो गीत बढी गाउन मनपर्छ ?
हरेक गीत मलाई बढी मनपर्छ । सबै प्रकारका गीत गाउन सक्छु । रोमान्टिक गीतको तुलनामा अडियन्सले सेन्टिमेन्टल गीत बढी मन पराएका हुन्छन् । मैले गाउने गीतको पहिले त शब्द नै राम्रो हुनुपर्छ । त्यसपछि संगीत ।

 

उछृङखल शब्द र भिडियोमार्फत चर्चा कमाइन्छ भन्ने भ्रम पनि छ नि ?
त्यो त हो । चर्चा नेगेटिभ र पोजेटिभ दुवैको हुन्छ । भल्गर गीत गाएर अथवा भिडियो बनाएर कमाइने चर्चा नेगेटिभ चर्चा हो । म त्यसमा विश्वास गर्दिनँ । त्यो चर्चा अस्थायी हुन्छ । तर राम्रा गीतसंगीत र भिडियोमार्फत स्रोता, दर्शकको मन खिच्न सक्नु पोजेटिभ चर्चा हो । जुन, स्थायी हुन्छ र कलाकारलाई पनि आत्मसन्तुष्टि मिल्छ जस्तो लाग्छ । आर्टिस्टभन्दा अडियन्स माथि हुन्छ । अडियन्सलाई झुक्याउन सकिन्न ।

 

तपाईलाई भल्गर गीत गाउने अफर आएन ?
त्यतातर्फ म इन्टरटेन गर्दिनँ । मैले पनि शब्द मन नपरेर धेरै गीतहरु छोडेको छु । गीत गाउनका लागि सबैभन्दा पहिले शब्द नै उत्कृष्ट हुनुपर्छ । त्यस्ता अफर आउँदैनन् भन्न सकिन्न, तर आफूले कस्ता गीत गाउने भनेर छुट्याउन सक्नुपर्छ ।

 

चर्चा कमिएपछि त सांगितिक यात्राको क्रममा धेरै ठाउँ पुग्नुभयो होला नि ?
पुगेको छु । सांगितिक यात्राकै क्रममा देशभित्रकै २५ बढी जिल्ला पुगेको छु । देशबाहिर पनि हङकङ, जापान, यूके, अष्ट्रेलिया लगायतका देश पुगेको छु ।

 

लोकप्रियतासँगै पारिश्रमिक पनि बढाउनुहुन्छ होला होइन ?
पैसामात्र काउण्ट गरेर हुँदैन । हुन त मेहेनतअनुसारको प्रतिफल चाहिन्छ नै । मेरो यति रेट हो र यति नपाएसम्म म काम गर्न सक्दिनँ भनेर मैले अड्डी कसेको छैन । विभिन्न कार्यक्रमतिर जाँदापनि आयोजकसँगको सहमतिमा नै पारिश्रमिक निर्धारण हुन्छ ।

 

अरु कुन–कुन कलाकारका कस्ता गीत मनपर्छ ?
मलाई भक्तराज आचार्य, नारायणगोपाल, तारादेवी र अरुणा लामाको प्राय गीत मनपर्छ । मैले बढी गुन्गुनाइरहने गीत उदय सोताङ र मनिला सोताङको ‘आधी बाटो हिडेपछि’, भक्तराज आचार्यको ‘हजार सपनाहरुको माया लागेर आउछ’ र नारायणगोपालको ‘माया त माया हो’ हुन् ।

(अर्काईभबाट)

हेमन्त राना
गायक


प्रतिक्रिया

सम्बन्धित समाचार