माछा मारेर भाग लगाउने कुनै बेलाको बालक नेपाल प्रहरीको कुशल डिआइजी


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ कात्तिक २८ आइतवार १३:५९ बजे

माछा मारेर भाग लगाउने कुनै बेलाको बालक नेपाल प्रहरीको कुशल डिआइजी

प्रहरी नायब महानिरिक्षक जय बहादुर चन्द कुनै नौलो नाम होइन । प्रहरी संगठनभित्र विभिन्न तहमा रहेर कुशलतापूर्वक जिम्मेवारी सम्हाल्दै डिआइजीजस्तो गरिमामय तहमा आइसक्नुभएका उनै जयबहादुर चन्दसँग हरेकन्युजकर्मीले गरेको कुराकानीमा आधारित चाखलाग्दो र ज्ञानवद्र्धक जीवनी –

नेपाल प्रहरीका प्रहरी नायब महानिरिक्षक डिआइजी जयबहादुर चन्दको जन्म बि.सं. २०२१ साल भदौ २५ गते बैतडीमा भएको हो । भौगोलिक विकटता र दुर्गम गाँउमा जन्मिएका चन्दको ४ दाजुभाइ र ४ दिदीबहिनी हुनुहुन्छ । मध्यमवर्गीय परिवारमा चार दाजुभाइमध्ये उहाँ माइलो छोरोको रुपमा जन्मिनुभएको हो ।

01-jaya-bahadur-chanda

उहाँले एसएलसी स्थानीय बासुदेव माध्यामिक विद्यालय चन्द्रपुर लिस्किटाबाट पास गर्नुभयो भने प्रमाणपत्र तहको पढाई महेन्द्रनगर कञ्चनपुरबाट गर्नुभयो । कञ्चनपुरको बहुमुखी क्याम्पसबाट त्यसबेला उहाँमात्र पास हुनुभएको हो । मेधावी छात्र भनेर अहिलेपनि त्यहाँ उहाको नाम राखिएको छ । उहाँको पढाइ अत्यन्त राम्रो थियो । डेढ घण्टा हिडेर विद्यालय जानुहुन्थ्यो । कहिले विद्यालयबाट फर्किदा काफल खान जाने,समयमै घर नपुग्ने समेत गर्नुहुन्थ्यो । उहाँ बाल्यकालमा भलिबल,कबड्डी,डण्डीबियो,बक्सिङ खेल्नुहुन्थ्यो । उहाँको बुबा व्यवसायी हुनुहुन्थ्यो । कपडा,घ्यु,किरानाको उहाँको बुबाले पसल गर्नुहुन्थ्यो भने पछि घरेलु उद्योग खोल्नुभयो । बुबा व्यवसायमा व्यस्त,आमा बिहानै उठेर घरधन्दा,गोठधन्दा गर्ने,खेतीपातीमा व्यस्त हुने भएकाले पनि पढ्नुपर्छ भन्ने उहाँलाइ आफै महसुस हुन्थ्यो । उहाँ शनिबार गाइभैँसी चराउन जाने,पौडी खेल्ने गर्नुहुन्थ्यो । हिउदको समयमा तरुल खन्ने,घाँस दाउरा खोज्ने गर्नुहुन्थ्यो ।

उहाँ बाल्यकालमा नेतृत्व गर्ने कुनै कुराको संयोजन गर्ने स्वभावको हुनुहुन्थ्यो । होली पर्वको समयमा होली खेल्न गीत लेख्ने,संयोजन गर्ने,नेतृत्व गर्ने उहाँको स्वभाव थियो । वल्लो पल्लो टोलका करिब ४०÷४५ जना युवाहरु भएर करिब ४ दिन होली खेल्ने पैसा संकलन गर्ने र त्यसको सम्पूर्ण निर्देशन चन्दले गर्नुहुन्थ्यो । खोलामा माछा मार्न जाँदा माछा भाग लगाउने जिम्मा उहाँलाइ पथ्र्यो । उहाँले बराबर भाग लगाउनुहुन्थ्यो । सबै साथीहरुलाई भाग रोज्न लगाएर अन्तिममा रहेको भाग आफु लिनुहुन्थ्यो । आजभोलि डिआइजी चन्द आफ्नो पुलिस फोर्सभित्र ब्रिफिङ गर्नेबेला सोहि उदाहरण प्रस्तुत गर्नुहुन्छ । त्यसबेला माछाको ठूलो भाग रोज्ने मानिसहरुको अहिलेको पोजिसन राम्रो नभएको उहाँ बताउनुहुन्छ । मानिस दयालु,परोपकारी र ठूलो चित्तको हुनसके इश्वरले उसलाइ पनि हेर्ने तर लोभीपापीहरुलाइ नहेर्ने उहाँको विस्वास छ । डिआइजी चन्द गीत पनि लेख्नुहुन्छ । उहाँले ट्राफिक महाशाखामा पनि सेतो टोपी एल्वम समेत निकाल्नुभएको छ । केहि राष्ट्रिय गीत पनि लेख्नुभएको छ । खेल क्षेत्र र पढाइमा विशेष रुची भएका चन्द आजभोलि पनि फुर्सदमा विभिन्न पुस्तक पढ्नुहुन्छ । उहाँ साहित्यका पुस्तकका साथै जीवनी,महात्मा गान्थी,बाराक ओबामा,नेल्सन मण्डेला जस्ताको संघर्ष, धार्मिक पुस्तकहरु पढ्नुहुन्छ ।

261228_108155425943327_3304236_n
उहाँको परिवारका कोहिपनि राष्ट्रको कुनैपनि पदको उच्च ओहोदामा उहाँभन्दा अघि कोहि पुगेन । उहाँको पारिवारिक पृष्ठभूमि कृषि पेशामा थियो । त्यसबेला सुदुरपश्चिमको काठमाण्डौसँग सडक सञ्जालले जोडिएको थिएन । पछि महेन्द्र राजमार्ग बनेपछिमात्र सुदुरपश्चिमबासीले काठमाण्डौसँग नजिकपनाको महसुस गर्न थालेका हुन् । त्यहि भएर पनि उहाँको गाँउघरबाट काठमाण्डौ आउने भन्नेकुरा निकै टाढाको कुरा थियो । कतिपय मानिसलाइ राज्य के हो ? राज्यले र राज्यलाइ निर्वाह गर्नुपर्ने कर्तव्य अधिकारको कुरा मानिसलाइ थाहा थिएन । उहाँ अध्ययन गर्ने विद्यालयमा त्यसबेला अध्ययन गर्ने केटीहरु अत्यन्तै कम हुन्थे भने केटाहरुमात्र बढी हुन्थे । त्यहि भएर पनि उहाँको विद्यालय तहमा केटीसँग बोलचाल,सम्बन्ध विस्तार, प्रेमका कुरा हुन सकेन । क्याम्पस पढ्दा कसैसँग आँखा जुध्ने,लज्जालु भावले हेर्ने जस्ताकुरा भएपनि उहाँको जीवनमा प्रेमका प्रस्ताव जाने आउने भएन । प्रहरीको जागिरमा लागिसकेपछि उहाँले २७ बर्षको उमेरमा मागी विवाह गर्नुभयो । त्यसअघि नै उहाँको अर्कै केटीसँग विवाह पक्का भइसकेको थियो । विवाह गर्न भनेर बैतडी घर जाँदा आफन्त पर्ने मानिसको मृत्यु भएर जुठो परेपछि उहाँको विवाह हुन सकेन । प्रहरी सेवामा उहाँ २०४५ साल बैसाख १ गतेबाट इन्पेक्टर तहबाटै प्रवेश गरेका चन्दले गुल्मीको इन्पेक्टर हुँदा विवाह गर्नुभएको हो । विवाह हुनुभन्दा अगाडी उहाँले अहिले उहाँकी श्रीमतीलाइ पहिलोपटक गुल्मीको तम्घासमा देख्नुभएको थियो । त्यसबेला उहाँले मन पराएपनि पुलिस अफिसर भएकाले खासै चासो दिइरहने कुरा भएन । पछि संयोगबस उहाँसगै विवाह गर्ने कुरा आयो र विवाह गर्नुभयो ।

1979611_709975779094619_6515405857027259843_n
प्रहरी संगठनमा प्रवेश गर्नुअघि उहाँ लोकसेवाको तयारी गर्दैहुनुहुन्थ्यो । तर पछि साथीभाइको सरसल्लाह र आफ्नै इच्छाले पनि प्रहरी संगठनमा लाग्नुभयो । डिप्लोमाको पढाइ काठमाण्डौमा पढ्दैगर्दा उहाँ २४ बर्षको हुनुहुन्थ्यो । त्यसबेला इन्पेक्टरमा भर्ना खुलेपछि उहाँले आवेदन दिनुभयो भने प्रहरी सेवामा प्रवेशका लागि आवश्यक पर्ने ५० केजी तौलभन्दा उहाँ एक केजी कम हुनुहुन्थ्यो तर टन्न केरा खाएर उहाँले आफ्नो तौल बढाएर प्रतिस्पर्धामा उत्रिनुभयो र पास हुनुभयो । अहिले प्रहरीमा जागिर खानका लागी कुनै सोर्सफोर्स आवश्यक नपर्ने बताउने दाबी गर्ने डिआइजी चन्द बरु त्यसबेला आफ्नो मान्छे ठाँउमा भएको हुनुपर्ने बताउनुहुन्छ । अहिले भने निस्पक्षता रहेको बताउनुहुन्छ । प्रहरीमा प्रवेश गर्दा उहाँले तालिममा समेत उत्कृष्टता हासिल गर्दै जानुभयो । उहाँले प्रहरीको इन्पेक्टर हुदै त्यो भन्दा माथीका तहमा रहदै विभिन्न जिल्लाको इन्चार्ज भएरै काम गर्नुभयो भने धेरै जिल्लामा उहाँ पुगिसक्नुभएको छ भने दर्जन बढि विदेशी मुलुक पनि घुमिसक्नुभएको छ ।

द्धन्द्धकालमा उहाँ डिएस्पी र एस्पी पदमा रहनुभयो । डिएस्पी हुँदा उहाँ बुटवल,पर्वत र काभ्रेमा रहनुभयो भने एस्पी हुँदा मकवानपुरमा हुनुहुन्थ्यो । द्धन्द्धकालमा कुनैपनि पुलिस युनिट राति १ बजेभन्दा अघि सुत्दैनथ्यो । राति १ बजेसम्म डिआइजी चन्दकी श्रीमती फोन कुरेर बस्नुहुन्थ्यो । उहाँले फोन गरेपछि अब केहिपनि हुदैन सुत भनेपछिमात्र डेरामा रहेकी उहाँकी श्रीमती सुत्नुहुन्थ्यो । द्धन्द्धकालको समयमा दुई बर्ष उहाँ काभ्रेमा बस्नुभयो । २ बर्षको समयमा उहाँ मात्र ३ दिन छुट्टिमा बस्नुभयो । द्धन्द्धकालको समयमा मात्र ३ दिन छुट्टिमा बस्दा मातहतका सम्पूर्ण प्रहरीहरु हरेक साँझ उहाँको क्वार्टरको बत्ति हेर्थे । बत्ति नबल्दा निरास हुन्थे । जव उहाँ बिदा सकेर हाजिर हुनुभयो, बत्ति बल्यो सबै स्टाफहरुको मुहारमा खुसी आउथ्यो । त्यसबेला उहाँले एउटा कमाण्डरको सहारा कत्ति हुदोरैछ भन्ने महसुस गर्नुभयो । द्धन्द्धकालमा उहाँ मातहतका कोहि प्रहरीले जागिर छोडेर हिडेन । किनकी उहाँको नेतृत्व गर्ने क्षमता र मोटिभेट गर्ने क्षमता अतुलनीय छ । द्धन्द्धकालमा उहाँ विभिन्न भिडन्तमा पनि पर्नुभयो । तत्कालिन माओवादी पक्राउ पर्थे तर उहाँले कुनै मानवअधिकार उल्लंघनको घट्ना गर्नुभएन । यातना दिने हिंसा गर्ने काम गर्नुभएन । तत्कालिन माओवादी द्धन्द्धकालमा जागिर छुटाएर घर लैजान भनेर डिआइजी चन्दकी आमा अध्यारो अनुहार लगाएर बैतडीदेखि काभ्रे आउनुभयो तर उहाँले सम्झाएपछि उज्यालो अनुहार लगाएर गौरव गर्दै आमा घर फर्किनुभयो ।

अहिले डिआइजी चन्द लागुऔषध नियन्त्रण ब्युरोको इन्चार्ज हुनुहुन्छ । मुलुकको लागुऔषधको समस्या समाधानका लागि उहाँको भूमिका महत्वपूर्ण र अविस्मरणीय छ ।

 


प्रतिक्रिया

सम्बन्धित समाचार