पूर्व श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङ, जसले ६ वटा खाडी मुलुक र मलेसियामा बैदेशिक रोजगारीमा जादा फ्रि भिसा र फ्रि टिकट लागु गराउने आँट गरे । यो एकदमै सह्रानीय र अनुकरणीय कदम त हुँदै हो,अर्कातिर चुनौतिपूर्ण पनि उत्तिकै थियो । यद्यपी पूर्व श्रम तथा रोजगार राज्यमन्त्री गुरुङले गरेको यो साहसिक कदमले गर्दा बैदेशिक रोजगारमा जाने आम नेपालीहरु ठगिनबाट धेरै मात्रामा जोगिएका छन् । उनको यो साहसिक कामको सरकारले प्रभावकारी रुपमा कार्यान्वयन त गर्न सकेको छैन । तथापी धेरै नेपालीहरु पहिलेको भन्दा कम रकम तिरेर र कतिपय फ्रि भिसा फ्रि टिकटमै विदेश गइरहेका छन् ।
मनाङ क्षेत्र नम्बार १ बाट प्रत्यक्ष निर्वाचनमा बिजयी नेपाली कांग्रेसका सांसद गुरुङ पार्टी भित्रका एक प्रभावसाली नेता मानिन्छन् । उनै पूर्वश्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङसँग सहकर्मी कृष्ण कट्टेलले गरेको कुराकानी

माननीय ज्यू, स्वागत छ
धन्यवाद ।
सञ्चै हुनुहुन्छ ?
आराम छु ।
आजकल के मा व्यस्त हुनुहुन्छ ?
आजभोलि जिल्लाकै काममा व्यस्त छु । जिल्लालाइ कसरी विकास गर्ने भन्नेमा केन्द्रित छु ,अहिले मनाङमा सडक पुगेको छ, त्यो सडकको स्तरोन्नती गर्नेतर्फ अनि जिल्लाबासी दाजुभाइ दिदीबहिनीहरुको बिचमा पुग्ने,उनीहरुको गुनासो सुन्ने यस्तै यस्तैमा अनि पार्टीको कार्यक्रमतिर व्यस्त छु । मुलुकले नयाँ संविधान पाएको छ । संविधान कार्यान्वयन गर्न तथा संविधानको महत्वबारे दुर्गम क्षेत्रसम्म पनि पु¥याउन मैले आफ्नो तर्फबाट मेहनत गरिरहेको छु ।
मनाङबाट राजनीतिको केन्द्रविन्दुमा पुग्नुभयो, यहाको बाल्यकाल फर्केर हेरौँ न ,कस्तो थियो बाल्यकाल ?
मेरो जन्म मनाङको तेङ्गी मनाङ वडा नम्बर २ मा भएको हो, बाल्यकाल मनाङमा तथा पछि पोखरामा बित्यो । मनाङमा हुदाकै बाल्यकाल सम्झिने हो भने आजभोलि पनि मलाइ रुन मन लाग्छ । किनकी दुर्गम क्षेत्र,उकाली ओराली धेरै विकटताका बिच वाल्यकाल रमाइलोका साथ नै बित्यो । अर्कातिर त्यो बेला मेरा बुवा आमाले कसरी हुर्काउनुभयो होला भन्ने लाग्छ । मेरो बुवा लगायत अन्य धेरै पुरुषहरु समुन्द्रपार मलेसिया जाने,ह्याण्डिक्राफ्टको व्यापार गरेर फर्किनुहुन्थ्यो । ममी तथा गाउँघरका अन्य मानिसहरु १५ दिन हिडेर बुटवलको ठोरी आएर दाल,चामल, नुन तेल ओसार्नुहुन्थ्यो । यस्तै परिस्थिती हेर्दै र भोग्दै हुर्किएको हुँ म ।
कस्तो पारिवारिक स्थिती थियो ?
दुर्गम क्षेत्र भएपनि सम्पन्न परिवार हो । मेरो बाजे समाजसेवा गर्नुहुन्थ्यो । गाउँघरका गरिवहरुलाइ हेर्ने,सहयोग गर्नुहुन्थ्यो । बाजेको नाम बामे गुरुङ हो । उहाँको नाम भनेपछि सबैले चिन्थे ।
औपचारिक शिक्षा कहाँबाट प्रारम्भ गर्नुभयो ?
छोराछोरीलाइ शिक्षा दिनुपर्छ भनेरै मेरा बुवा आमाले हामीहरुलाइ मनाङबाट पोखरा ल्याउनुभयो । मेरो प्रारम्भिक शिक्षा पोखराबाटै सुरु भयो । पछि काठमाण्डौमा आएर पढेँ । त्यसबेला मलेसिया सिंगापुर जाने भनेपछि निकै महत्वका साथ हेरिन्थ्यो । त्यसपछि म पनि मलेसिया सिंगापुर गएर व्यापार सुरु गरेँ । त्यसक्रममा अन्य विभिन्न देश घुमेँ । ह्याण्डिक्राफ्टको व्यापार गरियो ।
युवा अवस्थामा मायाप्रेम कत्तिको बस्यो ?
त्यस्तो समय नै भएन । म मायाप्रेम गर्ने भन्दापनि कसरी व्यापारमा राम्रो गर्ने भन्नेमा लागिरहेँ । एकजना विदेशी युवतीले मलाइ मन पराएकी थिइन् । उनको परिवारले पनि मलाइ उनीहरुकै देश अष्ट्रेलियामा लैजाने प्रस्ताव गर्थे । तर मैले मानिन । पछि सम्पर्क नै नभएपछि कुनै सम्बन्ध लामो समयसम्म टिक्न सकेन ।
अब राजनीतिका कुरा गरौँ, राजनीतिमा कसरी प्रवेश गर्नुभयो ?
मनाङका अधिकांश मानिसहरु राजनीतिमा चासो राख्दैन थिए । म व्यापारमा राम्रो गर्दै अगाडी बढेँ । पञ्चायतकालको बेलामा मनाङको प्रतिनिधित्व लमजुङकाहरुले गर्थे । मलाइ त्यसबेलादेखि हामीहरु मनाङको प्रतिनिधित्व गर्न सकिहाल्छौ नि भन्ने लाग्थ्यो । पछि गणेशमान,गिरिजाप्रसाद उनीहरुको व्यक्तित्व,नेतृत्व गर्ने क्षमताबाट प्रभावित भएँ र राजनीतिमा प्रवेश गरेको हुँ ।
श्रम तथा रोजगार राज्यमन्त्री हुँदा तपाइले खाडी मुलुकसहितका ६ देशहरुमा फ्रि भिसा फ्रि टिकट लागु गराउनुभयो, कसरी यो जोखिम मोल्नुभयो ?
बैदेशिक रोजगारसम्बन्धी मलाइ राम्रो ज्ञान छ । कुनैबेला बिदेशी कम्पनीहरुले नेपालका कामदारलाइ उल्टै पैसा दिएर लैजाने गर्थे । त्यो समय फेरिएर हजारौँ,लाखौ रुपैया बुझाएर पनि नेपालीहरु आजभोलि बैदेशिक रोजगारीमा गइरहेका छन् । त्यति खर्च गर्दासमेत उनीहरुको सुरक्षा,कमाइ,आकर्षक तलव सुनिश्चित छैन । धेरै नेपालीहरु बैदेशिक रोजगारीका नाममा ठगिएका छन् । क्रणमा डुबेका छन् । कतिले त उतै जीवनसमाप्त गरेका छन् । यसर्थ वैदेशिक रोजगारलाइ व्यवस्थित वनाउन आवश्यक थियो ।मैले यो फ्रि भिसा फ्रि टिकटको कुरा ल्याएँ । यसले गर्दा बैदेशिक कम्पनी कतिको गुणस्तरीय हो भन्ने थाहा हुन्छ, फ्रि टिकट दिनसक्ने कम्पनी त राम्रै हुन्छ । जसले गर्दा वैदेशिक रोजगारीलाइ झनै व्यवस्थित बनाउछ ।
फ्रि भिसा फ्रि टिकटको कुरा प्रभावकारी रुपमा कार्यान्वयन भएको छैन नि,यसमा के भन्नुहुन्छ ?
यो कार्यान्वयन हुदै गएको छ र छिट्टै नै प्रभावकारी रुपमा कार्यान्वयन हुनेछ भन्ने मलाइ लाग्छ । यो लागु हुदैमा बैदेशिक रोजगार व्यवसायीहरु आत्तिहाल्नुपर्ने अवस्था हुदैन । फ्रि भिसा फ्रि टिकटको व्यवस्थाले बैदेशिक रोजगारलाइ अझ व्यवस्थित बनाउछ । यो अत्यन्त आवश्यक छ । किनकी लाखौ नेपाली युवाहरु विदेशमा गएर अलपत्र परेका छन्,कोहिको जीवन उतै अन्त्य भएको छ । कोहि ठगिएर फर्किएका छन् । कम्पनीको क्षमता बुझ्न पनि फ्रि भिसा फ्रि टिकटको व्यवस्था लागु गर्नुपर्छ । किनकी ठग्ने तथा डुब्न लागेका कम्पनीहरुले फ्रि भिसा फ्रि टिकटमा कामदार लैजान सक्दैनन् । जत्तिले लैजान्छ, त्यस कम्पनीमा नेपालीहरु पक्कै सुरक्षित हुनेछन् ।
