
सत्तारुढ दल नेकपाका सांसद गजेन्द्र बहादुर महतले कर्णालीबासीले अझै सरकारको महसुस गर्न नपाएको बताएका छन् । एउटा नागरिकता दिएर मात्रै नागरिकप्रति राज्यको दायित्व पुरा नहुने भन्दै कर्णालीबासीले अझैपनि उज्यालोमा बस्न नपाएको महतले बताए ।
‘अहिले पनि कर्णालीका मान्छेले सरकारको महसुस गरेका छैनौँ । रोजगारीका लागि भारत जानुपर्ने बाध्यता छ’ सांसद महतले भने । ३ बर्षदेखि बिजुली पुर्याउने प्रकृया भएपनि अझै पुग्न नसकेको भन्दै सांसद महत भन्छन्,‘बत्ति त गाह्रो कुरा त होइन नि । पोल गाढेर तार तान्ने कुरा हो नि । त्यो कुनै रेलको लिक त होइन । अर्बौँ लगानीको बिमानस्थल निर्माण होइन । १५ करोड लगानीको बत्ति पुर्याउन अरु ३ बर्ष लाग्नेभए हामी नकराए कसले कराउछ ?’
केपी ओली नेतृत्व मात्रै नभई अरु कसैको नेतृत्वको सरकार भएपनि अहिले दश पूर्णाङ्कमा बढिमा पाँच भन्दा धेरै ल्याउन नसक्ने महतले बताए । कोरोनाको कारण सीमानाका तथा विभिन्न क्षेत्रमा अलपत्र नागरिकको उद्धारमा सरकारले सह्रानीय काम गर्न नसकेको उनले बताए । ‘कुनै टेलिभिजनले बरु तत्काल गाडी पठाएर राहत दिईरहेको छ । त्यो देख्दा आनन्द आउछ । अब सरकार म त्यो टेलिभिजनलाई भनौँ कि कसलाई भनौँ ?’ उनले प्रश्न गरे ।
घरमै बसीबसी तलब खानेलाई लकडाउन चाहिएको भन्दै सांसद महतले आर्थिक अवस्था कमजोर भएका एवं मजदुर तथा विद्यार्थी बर्गमा भोकमरी सिर्जना भईसकेको बताए ।
फरक प्रसंगमा सांसद महतले न्यु मिलेनियम च्यालेञ्ज कर्पोरेसन एमसीसीको विषयमा सामाजिक सञ्जालमा अनावश्यक बहस भईरहेकाले सार्वभौम संसदमा यो विषयमाथी बहस आवश्यक रहेको बताए । एमसीसी पास गर्ने कि नगर्ने, परिर्माजन गरेर पास गर्ने कि के गर्ने सबै अधिकार संसदको हुने भएकाले सरकारले यो विषय कार्यसुचीमा राख्नुपर्ने बताए ।
सांसद महतसँग एमसीसीको विषयमा गरिएको कुराकानी भिडियोमा हेर्न सक्नुहुनेछ ।