आफ्नो जितको आधार यसरी बताउछन् लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरु


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७४ मंसिर १४ बिहीवार १०:४७ बजे

आफ्नो जितको आधार यसरी बताउछन् लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरु

१४ मंसिर,काठमाण्डौ

यतिबेला महिला,बालबालिका तथा समाजकल्याणमन्त्री एवं राप्रपा नेता विक्रमबहादुर थापा काठमाडौं क्षेत्र नम्बर ७ बाट प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारका रुपमा चुनावी घरदैलोमा छन् । लोकतान्त्रिक गठबन्धनबाट चुनावी मैदानमा ओर्लिएका राप्रपा नेता थापालाई आफ्नो पार्टीसहित नेपाली कांग्रेसको दर्बिलो साथ देखिन्छ ।
सोही क्षेत्रको प्रदेश सभा ‘ख’ मा नेपाली कांग्रेस नेता धर्मराज अर्याल प्रत्यक्षतर्फका उम्मेदवार छन् । बर्षौँदेखि सोहि क्षेत्रमा समाजसेवा तथा राजनीति गर्दै आएका अर्याल स्थानीयस्तरमा लोकप्रीय नेता हुन् । कांग्रेसको स्थानीय ईकाई अध्यक्षदेखि क्षेत्रीय अध्यक्षसम्म भएर पदमा रहँदा वा नरहँदा जनताकै बिचमा रहदै आएका अर्यालको उम्मेदवारी बाम गठबन्धनका उम्मेदवारका लागि ठूलो चुनौति बनेको छ । बाम गठबन्धनबाट सोहि क्षेत्रका प्रदेश ‘ख’ मा प्रकाश श्रेष्ठ उम्मेदवार छन् भने उनीविरुद्ध बिदुर धमलाले बागी उम्मेदवारी दिएका छन् । आफैमा लोकप्रीय कांग्रेस नेता अर्याल आफ्नो जित सुनिश्चित रहेको दाबी गर्छन् । उम्मेदवारद्धय थापा र अर्यालसँग हरेकन्युजकर्मीले कुरा गरेका छन् ।

बिक्रमबहादुर थापा
राप्रपा नेता एवं महिला,बालबालिका तथा समाजकल्याण मन्त्री
प्रतिनिधिसभा सदस्यका लागि लोकतान्त्रिक गठबन्धनका काठमाडौं क्षेत्र नम्बर ७ का उम्मेदवार

Bikram thapa and dharmaraj

बिजयको उत्सव मनाउनेमा कत्तिको ढुक्क हुनुहुन्छ ?
निर्वाचन प्रचारमा हिडेदेखि नै मतदाताले उत्साहित बनाउनुभएको छ । घरघरको अगाडी आएर उत्साहित बनाउने,हात हल्लाउने गर्नुभएको छ । यसपाली तपाईहरुको पालो हो,हामी जिताउछौँ भन्ने उहाँहरुको प्रतिक्रियाले पनि निकै उत्साहित छु ।

मतदाताले आफैलाई विस्वास गर्छन् भन्ने आधार यत्ति हो र ?
अहिलेसम्म जितेका उम्मेदवारहरुले मतदाताको बिचमा बिजयी भइसकेपछि पनि गएर गर्नुपर्ने सामान्य व्यवहार नगरेको देखियो । यो क्षेत्रको विकास निर्माण अलमलिएको छ । सबैलाई एकढिक्का बनाएर लैजाने काम हामीले गरिएनछ । अहिलेसम्मको अनुभवले यो बताएको छ । गाविसको वडाध्यक्ष,नगरपालिका देखि केन्द्रिय राजनीतिमा समेत जित्नेले हार्नेलाई डोहोर्याएर लैजाने परिपाटी देखिएको छैन । ठूलो पार्टीले सानो पार्टीलाई पनि सँगसँगै नडोहोर्याउने हो भने मुलुकको विकास तीव्रगतिमा अघि बढ्न सक्दैन । सुर्य चिन्हमा मतदान गरेर बिजयी गराईरहँदा हामी अलमलियौँ भनेर यहाँका मतदाताले भन्नुभएको छ । यसक्षेत्रको प्रदेशसभा क मा उठ्नुभएका बिजय माली र प्रदेशसभा ख का उम्मेदवार धर्मराज अर्याल हामी तीनजनाको जोडी सम्भवत यो क्षेत्रका लागि बरदान सावित हुने मैले अनुमान गरेको छु ।

तपाईको स्थानीय एजेण्डा के छन् ?
राजधानी भित्रको यो क्षेत्रको कुरा गर्दा अझै सडक,विद्युत,स्वास्थ्य,शिक्षाको अवस्थालाई अझै सुधार गर्नुपर्ने आवश्यक्ता छ । खानेपानीको समस्या उत्तिकै छ । यहाँ भएका नदिनालाको व्यवस्थापन,संरक्षण गर्नुपर्ने, यसक्षेत्रका सांस्कृतिक पक्ष,जात्राहरुको संरक्षण गर्नुपर्ने देखिन्छ । मध्यवर्ती क्षेत्र भनेर शिवपुरीले नार्गाजुन जोड्ने जुन योजना बनाएको छ । यसले यो क्षेत्रका जनतालाई भोलि साह्रै अप्ठ्यारो स्थितिमा पुर्याउने देखिएको छ । नार्गाजुन र शिवपुरीलाई जोड्नुपर्ने अवस्था होइन । हामी यसलाई तत्काल हटाउनेछौँ । यी यस्तै हाम्रा एजेण्डा हुन् ।
राजधानीबासी भएपनि यस क्षेत्रमा ठूल्ठूला उद्योग व्यवसायको कुरा गर्ने स्थिति यहाँ छैन । जनताको न्युनतम आवश्यक्ता परिपूर्तिमै म केन्द्रित हुनेछु ।

यसअघि संविधानसभामा प्रत्यक्षतर्फ बिजयी एमालेका रामवीर मानन्धर नै यसपटक बाम गठबन्धनसहित चुनावी मैदानमा छन्, जित्न तपाईले भनेजस्तो सजिलो पक्कै नहोला कि ?
बाम गठबन्धनले जति प्रगति गर्छ भन्ने हल्ला चलेको थियो,जनताले त्यतिधेरै विस्वास गरेका छैनन् । अझ यो क्षेत्रको कुरा गर्ने हो भने ०४८ सालदेखि निरन्तररुपमा एमालेलाई जनताले प्रतिनिधित्व गराइराखेको र न्युनतम सेवा सुविधा उपलव्ध गराउन नसकेको भन्ने धारणा आम जनताको छ । यसकारण पनि लोकतान्त्रिक गठबन्धन नै अगाडि आउनेछ ।

नेपाली कांग्रेस र राप्रपाको चुनावी तालमेलपछि राष्ट्रिय मुद्धामा जनतालाई कसरी बुझाउदै हुनुहुन्छ ?
बाम गठबन्धनका दुई दलभन्दा लोकतान्त्रिक गठबन्धनका दलहरु नजिक छन् । राप्रपा र कांग्रेस दुबै प्रजातान्त्रिक शक्ति हुन् । बाम भित्रै हिजो सबैभन्दा एक अर्कालाई गाली गर्नेहरु थिए । अहिले दुईजनाको गला जोडिएको छ । संसदमा समेत उनीहरुकै बढि दोहोरी हुन्थ्यो । उहाँहरुले संसद मान्दैनौँ भन्दै आएका हुन् । तर कांग्रेस र राप्रपाले नै कम्युनिष्टहरुलाई समेत संसदीय व्यवस्थामा ल्याउन भूमिका खेलेका छन् । हामीले बुझाईरहनुपर्दैन । जनताले बुझिसकेका छन् । कांग्रेसले हिन्दुको विरोधी भन्न सकेको छैन ।

धर्मराज अर्याल
कांग्रेस नेता एवं लोकतान्त्रिक गठबन्धनका उम्मेदवार
काठमाडौं क्षेत्र नम्बर ७ प्रदेश सभा ‘ख’

dharmaraj aryal

कांग्रेसजस्तो ठूलो राजनीतिक शक्तिले प्रतिनिधिसभा उम्मेदवारमा राप्रपालाई छोड्दा पार्टीभित्र असन्तुष्टी छ कि मेटियो ?
नेपाली कांग्रेसले राप्रपासँग गठबन्धन गरेर यस क्षेत्रमा राप्रपाका उम्मेदवार अगाडी सार्दा केहि साथीहरु असन्तुष्ट थिए । कांग्रेसभित्र धेरै बर्षदेखि काम गरेका साथीहरु हुनुहुन्छ । तर हामीले छलफल गर्यौँ। पार्टीभित्र बर्षौँदेखि लागेर ठूलो लगानी भएका साथीहरु असन्तुष्ट भएपनि छलफलपछि उहाँहरु सन्तुष्ट हुनुहुन्छ । उहाँहरु पनि अहिले हामी उम्मेदवारहरुकै पक्षमा भोट माग्दै हिड्नुभएको छ । यसकारण लोकतान्त्रिक गठबन्धन यसक्षेत्रमा शक्तिशाली बन्दै गएको छ ।

मतदाताको दैनिकीसँग प्रत्यक्ष जोडिने तपाईको स्थानीय एजेण्डा के छन् ?
विशेषगरी सडक,खानेपानी लगायतका पूर्वाधारका कुरा त परिहाल्छ । भएको विकास र बाँकी गर्नुपर्ने विकासलाई प्राथमिकता दिने मेरो उद्धेश्य छ । त्योसँगै महत्वपूर्ण कुरा भनेको खोला किनारबाट बाटो लाने कुरा कानुनमै व्यवस्था गरिएको छ । यस क्षेत्रमा भएका खोला किनारहरुमा भएका सडकलाई गुणस्तरी बनाउनुपर्ने छ । त्यहाँको अवस्था हेरेर नयाँ बाटो लैजानुछ । बाटो नभएको डाँडाकाडाहरुमा बाटो लैजानुछ । डाँडामा बस्ती बनाएर समथर उर्वर भूभागमा खेती गर्नु वैज्ञानिक हुन्छ भन्ने लाग्छ ।

डाँडा क्षेत्रमा पनि साना ठूला बाटो बनाएर व्यवस्थित बस्ती,शहरको विकास गर्ने तथा तल भने उद्योग कलकारखाना बनाउने,स्कुल,कलेजहरु खोल्ने तथा खेती गर्ने गर्नुपर्छ भन्ने लाग्छ । हाम्रो मुख्य उद्धेश्य खोला खोल्सीको किनारबाट गुणस्तरीय बाटो बनाउने यस क्षेत्रको सडक,विद्युत,खानेपानी लगायतको समस्या समाधान गर्ने मेरो एजेण्डा हुन् । उर्वर भूमिमा बढिरहेको अव्यवस्थित बसोबास र शहरीकरणलाई व्यवस्थित बनाउदै खेतीयोग्य जमिन जोगाउनुपर्छ ।

तपाईको एजेण्डा त यी हुन्, यद्यपी तपाईलाई नै भोट दिनुपर्ने अरु आधारहरु के के छन् ?
एउटा त नेपाली कांग्रेस लोकतन्त्रवादी शक्ति हो । ०७ सालपछिका हरेक महत्वपूर्ण परिवर्तनको नेतृत्व नेपाली कांग्रेसले गरेको छ । कांग्रेसको बिचार राम्रो छ । संसदीय व्यवस्था नमान्ने बामपन्थीहरु अहिले संसदमा आएका छन् । मेरो उम्मेदवारी र नेपाली कांग्रेसलाई जनताले पत्याउने यो नै महत्वपूर्ण आधार हो । दोस्रो मैले यो क्षेत्रमा सामाजिक काम र विकास निर्माणका काममा लागिरहेको छु । पद नहुँदा पनि म जनताको बिचमा निरन्तर छु । पार्टीभित्र पनि इकाई सभापतिदेखि क्षेत्रीय सभापति भइयो । जनतालाई साथसहयोग आवश्यक पर्दा,दुःख पर्दा, हस्पिटल जानुपर्दादेखि विभिन्न सुखदुःखमा सरिक हुनुपर्ने मामिलामा पद छैन भनेर म पछि हटिन । राजनीति गर्ने व्यक्तिले सारा जनता आफ्नै हुन्,आफ्नै परिवार हुन् भनेर लागिपरेँ । यीनै नै मेरो आधार हो ।

तपाईको क्षेत्रमा बाम गठबन्धनका प्रदेशसभामा बागी उम्मेदवार छन्, तपाईलाई अझ सजिलो भएको हो ?
उम्मेदवार पाउनुअघि नै म ढुक्क थिएँ । उम्मेदवारी पाइन्छ या पाइन्न भन्नेमा बरु ढुक्क थिएन । कांग्रेसका जसले पाएपनि यो पटक यस क्षेत्रबाट बिजयी हुने निश्चित नै थियो । किनभने बर्षौँदेखि कम्युनिष्टले यस क्षेत्रबाट बिजयी हुदै आएपनि उनीहरुले यो क्षेत्रलाई बेवास्ता गरे । जितेर गइसकेपछि नेताहरु गाउँघर र आफ्नो क्षेत्रमा नै आउदैनन् । जनताहरु बामपन्थीबाट दिक्क भइसकेका छन् । ०४८ सालपछिबाट यस क्षेत्रबाट जो जो बामपन्थीहरुले जित्नुभयो,पार्टी फुट लगायत विभिन्न कारणले उहाँहरु गुमनाम हुनुहुन्छ । समाजसेवी हो यसैलाई मत दिनुपर्छ भनेर मेरो पक्षमा मत हाल्न आतुर मतदाताहरु धेरै हुनुहुन्छ । उहाँहरुको बागी हुँदा वा नहुँदापनि मलाई चिन्ता छैन । जित सुनिश्चित छ ।

स्थानीय एजेण्डासँगै राष्ट्रिय एजेण्डालाई पनि यहाँका जनतालाई हेर्छन्, कांग्रेस र राप्रपाको चुनावी तालमेलपछि एजेण्डाबारे कसरी बुझाउदै हुनुहुन्छ ?
मुलुकमा ठूलो समस्या आइसकेपछि ठूलो समस्याका अगाडि सानो समस्या देखिदैन । लोकतन्त्रको स्थायीत्व हुने कि नहुने भन्ने नै अहिले मुलुकको समस्या हो । लोकतन्त्र रहने सवालमा जनताहरुले अहिले लोकतान्त्रिक शक्तिलाई मत दिनुपर्छ भन्ने पक्षमा हुनुहुन्छ । राप्रपाले बोकेको राजसंस्थाको बारेमा त पछि कसरी अघि बढ्छ जनताकै हातको कुरा हो ।

कम्युनिष्ट आइसकेपछि लोकतन्त्र सकिने हो र ?
लगभग जाला । उहाँहरुले आफ्नो अन्तिम लक्ष्य साम्यवाद भन्नुभएको छ । अर्कोतर्फ कम्युनिष्टको चुनावी जुलुस अघि बढिरहँदा आम जनता त्रसित भएको अनुभूति गर्नुहुन्छ । तर लोकतान्त्रिक शक्तिको चुनावी जुलुस जनताको घरदैलोमा पुगिरहँदा उहाँहरु घरअगाडि निस्केर साथ समर्थन जनाउनुहुन्छ । सल्लाहसुझाव दिनुहुन्छ र समर्थन जनाउनुहुन्छ ।

एकातर्फ लोकतान्त्रिक गठबन्धन र अर्कोतर्फ बाम गठबन्धनको चुनावी घम्साघम्सी भईरहँदा खर्च गर्ने प्रतिस्पर्धा पनि देखिन्छ, यस क्षेत्रमा तपाईहरुले कति खर्च गर्दै हुनुहुन्छ ?
अहिले काठमाडौंको जनताले पैसा दिएको भरमा भोट हाल्छन् भन्ने कुरामा म विस्वास गर्दिन । यहाँका मतदाताले खर्च गर्ने,बढि तडक भडक देखाउनेलाई विस्वास गर्नुहुन्छ भन्ने लाग्दैन । समाजसेवा,आफ्ना गतिविधिबाट नै जनताको मत जित्नुपर्छ भन्ने पक्षमा म छु ।


प्रतिक्रिया

सम्बन्धित समाचार
ताजा अपडेट