काठमाण्डौ
असोज १९
अख्तियार प्रमुख लोकमानसिंह कार्कीको घरमा म्याद टाँस्न गएका सर्बोच्च अदालतका कर्मचारी त्यसै फर्किएका छन् ।
घर पूरै भाडामा लगाइएकाले म्याद नटाँसेरै फर्किएको सर्बोच्चका एक कर्मचारीले जानकारी दिए । कार्की विदेश गएको र म्याद बुझ्न अस्विकार गरेको भन्दै घरमै गएर म्याद टाँस्ने निर्णय सर्वोच्चले गरेको हो । वडा सचिवको रोहबरमा कार्कीको गेटमा सूचना टाँसिने सर्वाेच्च अदातल स्रोतले जनाएको छ । जुन म्याद कार्कीले नै बुझे सरह हुने जनाईएको छ । यसअघि पटक पटक म्याद तामेल गर्न खोज्दा कार्कीका परिवारले सम्बन्धित व्यक्ति नभएको भन्दै फर्काउँदै आएका थिए । आयोगका प्रमुख कार्कीको नियुक्ति कानुनसम्मत नभएको उल्लेख गर्दै अधिवक्ता ओमप्रकाश अर्यालले सर्वोच्च अदातलमा रिट निवेदन दायर गर्नु भएको थियो । सर्वोच्चले त्यो रिटको २०७१ असोज ८ गते खारेज गरेको थियो । तर पछि फेरि अदालतले त्यसलाई पुनरावलोकन गर्ने निर्णय गरेको थियो । सर्वोच्चले दुवै पक्षलाई म्यादको पत्र पठाएको थियो । अधिवक्ता ओमप्रकाश अर्यालले पत्र बुझे पनि कार्कीले त्यो पत्र बुझ्न अस्वीकार गर्दै आउनुभएको छ ।
