संविधानसभाका अध्यक्ष नेम्वाङको स्मृतिमा मुट कोर्ट प्रतियोगिता हुने


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०८१ साउन २७ आइतवार १७:२१ बजे

संविधानसभाका अध्यक्ष नेम्वाङको स्मृतिमा मुट कोर्ट प्रतियोगिता हुने

संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको स्मृतिमा राष्ट्रियस्तरको मुट कोर्ट प्रतियोगिता आयोजना हुने भएको छ । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको कानून तथा संघीय मामिला विभागले आउनै लागेको भदौको अन्तिम साता प्रतियोगिता गर्न लागेको हो ।

आगामी भदौ २६ देखि २८ सम्म प्रतियोगिता काठमाण्डौंमा सञ्चालन हुने बिहिबार पत्रकार सम्मेलनमार्फत जानकारी दिईयो । विद्यार्थीहरुमा कानुनी शिक्षा र वकालत गर्ने सीप अभिबृद्धिका लागि यो कार्यक्रम गर्न लागिएको विभागका अध्यक्ष गोपाल नेपालले जानकारी दिए । ‘संविधान निर्माण र विधिको शासन कायम गर्न समर्पित नेता स्वर्गीय सुवासचन्द्र नेम्वाङको योगदानलाई सम्मान र स्मरण गर्दै कार्यक्रम गर्न लागेका हौं । प्रतियोगितामा विजेता र उपविजेता टोलीलाई नगदसहित सम्मान गर्नेछौँ’ अध्यक्ष नेपालले भने ।


प्रतियोगितामा बिजेता टोलीले नगद ५० हजार रुपैया तथा उपविजेताले २५ हजार पाउनेछन् । दुबै टोलीलाई मेडलसहित प्रमाणपत्रको व्यवस्था आयोजकले राखेको छ । बीए, एलएम, एलबी अध्ययन गर्ने वा अध्यापन गराउने प्रत्येक शैक्षिक संस्थाका विद्यार्थीहरूले राष्ट्रिय स्तरको मुट कोर्ट प्रतियोगितामा प्रतिस्पर्धा गर्नसक्नेछन् ।

मौखिक बहस तथा बहसनोटको मूल्यांकनमा सबैभन्दा धेरै अंक ल्याउने टोलीलाई समेत नगद सहित प्रमाणपत्र दिईने उल्लेख छ । ईलाम क्षेत्र नम्बर २ बाट ०७९ को प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित समेत भएका स्वर्गीय नेम्वाङ पटक पटक सभामुख तथा दुबै संविधानसभाको अध्यक्ष थिए । संविधानसभाबाट जारी नेपालको संविधान ०७२ निर्माण हुनुमा स्वर्गीय नेम्वाङको अथक योगदान जगजाहेर छ । पछिल्लो समय सांसद निर्वाचित भईसकेपछि नेम्वाङ नेकपा एमालेको संसदीय दलका उपनेता रहेका थिए । उनकै स्मृतिमा अनेरास्ववियुको कानुन तथा संघीय मामिला विभागले मुट कोर्ट प्रतियोगिता गर्न लागेको हो ।

 


प्रतिक्रिया

सम्बन्धित समाचार