काठमाडौं । संसद विघटनको विरोधमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले आयोजना गरेको बृहत विरोध प्रदर्शन र सभाअघि काठमाडौ उपत्यकाका विभिन्न ५ स्थानबाट जुलुस निकाल्ने क्रम सुरु भएको छ ।
प्रचण्ड-नेपाल समूहले काठमाडाैंकाे माइतीघर, पुल्चोक, जमल, कुपण्डोल र लैनचौर क्षेत्रबाट जुलुस सुरु भएको केन्द्रीय संघर्ष समितिका सहसंयोजक योगेश भट्टराइले जानकारी दिए ।
पाँचै स्थानको जुलुस सुन्धारामा पुगेर मूल जुलुसमा परिणत हुनेछ ।
यसैबीच सभाका लागि काठमाडौंको बसपार्क, राष्ट्रिय सभा गृह र भद्रकालीको बीचमा टी आकारमा बस्न मिल्ने गरी मञ्च तयार गरिएको छ ।
सभा र जुलुस व्यवस्थित बनाउन सयौँ स्वयम्सेवक परिचालन गरिएको छ । आजको विरोध सभालाई अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव कुमार नेपाल, बरिष्ठ नेता झलनाथ खनाल, नेता जनार्दन शर्मा लगायतले सम्बोधन गर्नेछन् ।
