काठमाडौं । संवैधानिक परिषद्को सिफारिसमा सरकारले विभिन्न आयोगहरुमा गरेको नियुक्ति बदरको माग गर्दै सभामुख अग्नि सापकोटाले सर्वाेच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन् ।
सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेका अनुसार परिषद्को सिफारिस, नियुक्ति र नियुक्ति पाएकाहरुको कामकारवाही बदरको माग गर्दै सर्वोच्चमा दायर रिटमा राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीशलगायत ३९ जनालाई विपक्षी बनाइएको छ । रिट निवेदन दर्ता गर्न सभामुख सापकोटा शुक्रबार आफै सर्वोच्च अदालत पुगेका थिए ।
यसैबीच सभामुख सापकोटाले अहिले केहीबेरमा सिंहदरवारस्थित कृषि समितिको हलमा पत्रकार सम्मेलन आयोजना गरेर जानकारी दिने भएका छन् । त्यसका लागि १ बजे पत्रकार सम्मेलन आयोजना गरिएको सल्लाहकार न्यौपानेले जानकारी दिए ।
