काठमाडाैं । सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक आयोगहरूमा सरकारले गरेका नियुक्ति संविधानविपरीत भएको भन्दै रिट निवेदन लिएर सर्वोच्च अदालत पुगेका छन् ।
केही बेरअघि सभामुख सापकोटाले सर्वोच्च अदालतको मुद्दा महाशाखामा रिट निवेदन पनि पेस गरेका छन् । सभामुख सापकोटाले पेस गरेको रिट निवेदनमा संवैधानिक परिषद्को पुस ५ गतेको निर्णय बदर गर्न माग गरेका छन् । साथै उक्त निर्णयका आधारमा संवैधानिक आयोगहरुमा भएको नियुक्तिको पनि बदर गर्न सभामुख सापकोटाले रिटमा माग गरेका छन् ।
नियुक्तिपछि राष्ट्रपतिबाट शपथ लिई पदभार ग्रहण गरिसकेका संवैधानिक आयोगका पदाधिकारीलाई कामकारबाही गर्न नदिन पनि रिटमा माग गरिएको छ । त्यस्तै उनीहरुको नियुक्ति यथास्थितिमा राख्दै सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्नुपर्ने पनि सभामुख सापकोटाले रिटमा माग गरेका छन् ।
