काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तारको तयारी थालेका छन् । आज बस्ने बैठकले मन्त्रिपरिषद् पुनर्गठन गर्ने बालुवाटार स्रोत जानकारी दियाे ।
पुस ५ गते संसद् विघटन गर्ने सिफारिस गरेसँगै नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधकुमार नेपाल समूहका सातजना मन्त्रीले सामूहिक राजीनामा दिएका थिए ।
राजीनामा दिनेमा प्रचण्ड पक्षका पाँचजना र माधव नेपाल समूहका दुईजना थिए । सोही रिक्त रहेका मन्त्रालयमा नयाँ मन्त्रीलाई जिम्मेवारी दिने प्रधानमन्त्री ओलीको तयारी छ ।
केन्द्रीय कमिटीको बैठक सकिएपछि नेकपाका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले पनि छिट्टै मन्त्रिपरिषद् पुनर्गठन हुने बताएका थिए । प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठन गर्ने भएपछि मन्त्रीकालागि आकांक्षीहरु बढेका छन् ।
मन्त्री बन्ने सूचीमा टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, विशाल भट्टराई, महेश बस्नेत, खगराज अधिकारी, प्रेम आले, पदम गिरी, कृष्णकुमार श्रेष्ठ, गणेशसिंह ठगुन्ना, नारदमुनी राना, नवराज सिलवाल, दलबहादुर रानालगायतको नाम चर्चामा रहेको बताइएको छ ।
स्राेतका अनुसार प्रधानमन्त्री ओलीले प्रेम आलेलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनाउने तयारी गरेका छन् । नेकपाका नेता भीम रावलका कारण उनी अहिलेसम्म पटक-पटकपटक डोटीबाट निर्वाचित भएपनि मन्त्री हुन सकेका थिएनन् ।
