काठमाण्डौ
भदौ २६
प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमण जाने दिन नजिकिदै गर्दा उहाँलाइ सुझाव दिनेहरुको तछाँडमछाड देखिन्छ ।

भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री दाहाललाई राष्ट्रिय हित विपरीत सम्झौता नगर्न माग गर्दै एमालेले ६ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ। बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा आज बिहान प्रधानमन्त्री दाहाललाई भेटी एमाले अध्यक्ष केपी शर्मा ओलीले भारत भ्रमणमा राष्ट्रिय हित र स्वाभिमानको ख्याल गर्दै ६ बुँदे ध्यानाकर्षण पत्र बुझाउनुभएको हो । ध्यानाकर्षण पत्र बुझाउन पूर्वप्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओली, पूर्वप्रधानमन्त्री तथा बरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव कुमार नेपालसहित एमाले शीर्ष नेताहरुको टोली बालुवाटार पुगेको थियो । हिजो बसेको एमाले स्थायी समितिको बैठकले भारत भ्रमणका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई ध्यानाकर्षण पत्र बुझाउने निर्णय गरेको थियो । सोही निर्णयानुसार एमालेले आज प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएको हो । ६ बुँदे ध्यानाकर्षण पत्रमा एमालेले यसअघि अघिल्लो सरकारले भारतसँग गरेका सम्झौता र सहमतिबारे स्मरण गराउँदै राष्ट्रिय हितविपरीत कुनै पनि सहमति र सम्झौता नगर्न प्रधानमन्त्री दाहाललाई सुझाव दिएको छ ।
