काठमाण्डौ
भदौ २२
प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो आसन्न भारत भ्रमण फलदायी बनाउनेबारे आज परराष्ट्रविद तथा उद्योगी व्यवसायीसँग छुट्टाछुट्टै छलफल गर्नुभएको छ ।

आज अपरान्ह २ बजेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा प्रधानमन्त्री दाहालले परराष्ट्रमन्त्री,पूर्वपरराष्ट्रमन्त्री,परराष्ट्र मन्त्रालयका सचिव तथा विभिन्न परराष्ट्रविदहरुसँग छलफल गर्नुभएको थियो । सो छलफलमा प्रधानमन्त्री दाहालले आफ्नो भारत भ्रमण दुइदेशबिचको सम्बन्धलाइ सुदृढ तथा सुमधुर बनाउनेमा केन्द्रित हुने बताउनुभयो । छलफलमा सहभागी पूर्वपरराष्ट्रमन्त्री प्रकाशचन्द्र लोहनीले गतबर्षको नाकाबन्दीको समयमा नेपालसँगको सम्बन्ध चिसिनुको कारणबारे भारतसँग छलफल गर्न प्रधानमन्त्री दाहाललाइ सुझाव दिनुभयो । भारतसँगको सम्बन्धलाइ सुदृढ बनाउन विस्वासको वातावारण आवश्यक रहेको लोहनीको भनाइ छ । त्यस्तै अर्का पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले भारत जानुअघि नै मधेसी मोर्चालाइ संविधान संशोधन गर्ने विस्वासिलो आधार प्रस्तुत गर्न प्रधानमन्त्री दाहाललाइ सुझाव दिनुभयो । प्रधानमन्त्री दाहालले आजै अपरान्ह उद्योगी व्यवसायीसँग पनि भारत भ्रमणबारे छलफल गर्नुभएको छ । सो क्रममा उद्योगी व्यवसायीहरुले नेपाल र भारतबिचको नीजी क्षेत्रबिच सहकार्य आवश्यक रहेकाले त्यसका लागि पुलको काम गर्न सरसकारलाइ आग्रह गरेका छन् । त्यस्तै,पञ्चेश्वर आयोजनाबारे भारतसँग छलफल गर्न पनि उनीहरुले सुझाव दिएका छन् । भारत भ्रमणमा नीजी क्षेत्रको पनि एकजना प्रतिनिधी सहभागी गराउन उनीहरुले प्रधानमन्त्री दाहालसमक्ष आग्रह गरेका छन् ।
