काठमाण्डौ
मंसिर १९
सरकारले ल्याएको संविधान संशोधन प्रस्तावप्रति असहमति जनाउदै आएका प्रतिपक्षी दलहरुको अवरोधले आजपनि व्यवस्थापिका– संसद्को बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको छ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) लगायत दलको अवरोधका कारण संसद बैठक आज तेस्रो दिन पनि अवरुद्ध भएको हो ।

संशोधन प्रस्ताव संसदमा दर्ता भएदेखि यसअघि दुइपटक संसद बैठक अवरुद्ध भइसकेको छ । बैठकको सुरुमा सभामुखसँग समय लिएर बोल्दै प्रतिपक्षी दल नेपाल मजदुर किसान पार्टीका सांसद अनुराधा थापा मगरले संविधान संशोधनमा भारतको दबाब र प्रभाव रहेको बताउँदै यस्तो प्रवृत्तिले मुलुकको सार्वभौमसत्ता खतरामा पर्ने आशङ्का गर्नुभयो । राप्रपा र राप्रपा नेपालबिचको पार्टी एकतातर्फ इंगित गर्दै उहाँले विदेशी शक्तिले दलहरुको एकता गराउने र फुटाउने खेल गरिरहेको जिकिर गर्नुभयो । थापाको उक्त भनाइमा नियमापत्ति जनाउँदै राष्ट्रिय प्रजातन्त्र पार्टीका सुशीलकुमार श्रेष्ठले आफ्नो पार्टीको एकतामा कुनै बाह्य पक्षको हात नरहेको बताउनुभयो । त्यसपछि राप्रपाका सबै सांसद् उठेर विरोध गरेपछि सभामुख ओनसरी घर्तीमगरले थापाको उक्त भनाइ रेकर्डबाट हटाउन संसद सचिवालयका कर्मचारीलाई निर्देशन दिनुभयो । संसद बैठक आगामी २२ गते बुधबार दिउसो १ बजेसम्मका लागि स्थगित भएको छ ।
