काठमाण्डौ
भदौ १८
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दलीय सहमतिका आधारमा संविधान संशोधन गरिने बताउनुभएको छ । सिंगापुरबाट स्वास्थ्य जाँच गराएर आज स्वदेश फर्केका सभापति देउवाले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै दलीय सहमतिमा संविधान संशोधन गरिनुपर्ने भन्दै त्यसका लागि सरकारले पहल गर्नुपर्ने बताउनुभयो ।
उहाँले दलहरुबिच संविधान संशोधनबारे छलफल चलिरहेकाले छिट्टै निष्कर्षमा पुगिने विस्वास व्यक्त गर्नुभयो । सरकार गठन गर्नेक्रममा मधेसवादी दलहरुसँग भएका सहमतिको कार्यान्वयन छिट्टै गरिने उहाँको भनाइ छ । मधेसवादी दलहरुसँग भएको सहमति कार्यान्वयन गर्न सरकारले गृहकार्य गरिरहेको समेत देउवाले बताउनुभयो ।स्थानीय निकायको निर्वाचन निर्धारित समयभित्रै गर्न आफूहरु तयार रहेको उहाँले बताउनुभयो । सभापति देउवाले सरकारले निर्वाचनको तयारी समेत थालिसकेकाले निर्वाचन हुँदैन भन्ने आशंका हटाउन आग्रह गर्नुभयो । एक प्रसंगमा उहाँले भूकम्पपिडितलाइ पहिलो किस्तामा डेढ लाख उपलब्ध गराउने सहमतिलाई व्यवस्थापिका संसद्ले अनुमोदन गरिसकेको भन्द कारले यसलाई कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । भूकम्प प्रभावितलाई डेढ लाख रुपैयाँ दिनुपर्ने कांग्रेसको माग संसद्ले अनुमोदन गरिसकेकाले सरकारले सोहि अनुसार रकम उपलव्ध गराउनुपर्ने बताउनुभयो । पेटसम्बन्धी समस्याको विगतदेखि नै सिंगापुरमा उपचार गराउदै आएका सभापति देउवा नियमित स्वास्थ्य जाँच गराएर आज स्वदेश फर्किनुभएको हो । उहाँ श्रीमती आरजुका साथ थाइ एयरलाइन्सबाट मध्यान्ह स्वदेश आइपुग्नुभएको हो ।
