काठमाण्डौ
१९ जेठ
सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले आफ्नो करिव १० महिने कार्यकाल सहरी विकासको क्षेत्रका लागि उपलव्धीपूर्ण रहेको बताउनुभएको छ । मन्त्रालयमा पत्रकार भेटघाट कार्यक्रममा मन्त्री केसीले भवन संहिताले पूर्णता पाउदै कार्यान्वयनमा आउनु, सहरी विकास रणनीति निर्माण हुनु लगायतका महत्वपूर्ण काम भएको बताउनुभयो ।

विगत १३ बर्षदेखि अलपत्र रहेको काठमाण्डौ उपत्यकाको बाहिरी चक्रपथ निर्माण प्रकृया पनि अघि बढेको छ । बाहिरी चक्रपथ निर्माणले गति लिइसकेको केसीले बताउनुभयो । उहाँले भन्नुभयो,‘कानुनी तथा नीतिगत पूर्णता नहुनु,संरचनागत कमि–कमजोरी यथावत रहनु,दक्ष जनशक्तिको अपर्याप्तता लगायत विभिन्न कमी,कठिनाई र व्यवधानका बाबजुद पनि विगत ९ महिनाको अवधिमा सहरी विकास मन्त्रालयले आफ्नो जिम्मेवारीको दायरा निकै फराकिलो बनाएको छ । नीतिगत अस्पष्टता र कानुनी अव्यवस्थालाई हटाएर यसलाई उचित गति र दिशा दिइएको छ ।’
मन्त्री केसीका अनुसार १३ बर्षदेखि उपेक्षित र अनिश्चित अवस्थामा रहेको बाहिरी चक्रपथको निर्माण प्रारम्भका रुपमा चोभार – सतुंगल ६.६ किलोमिटर खण्डको विस्तुत आयोजना प्रतिवेदन डिपीआर स्वीकृत गरी जग्गा एकिकरणका माध्यमबाट चक्रपथ निर्माण एवं बस्ती विकासको कार्य अगाडी बढाइएको छ । बाहिरी चक्रपथको बाँकी खण्डलाई पनि पूर्णता दिन तयारी थालिएको उहाँले बताउनुभयो ।
उहाँले काठमाण्डौ उपत्यकाको व्यवस्थित सहरीकरणका लागि काठमाण्डौँको चारैदिशामा जग्गा एकिकरणका माध्यमबाट ४ वटा आधुनिक नयाँ सहरहरुको विकास गर्ने कार्य अघि बढेको जानकारी गराउनुभयो ।
