काठमाण्डौ
१६ फागुन ।
कांग्रेस नेता एवं पूर्वअर्थमन्त्री रामशरण महत ।

पूर्वअर्थमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रिय सदस्य रामशरण महतको जन्म वि.सं. २००७ साल पुस ३० गते नुवाकोटको कविलासमा भएको हो । प्रतिष्ठित एवं मध्यम बर्गीय महत परिवारमा पूर्वमन्त्री महत जेठो सन्तानको रुपमा जन्मिनुभएको हो । उहाँका ५ बहिनी र १ जना भाइ छन् । उहाँका पुर्खाहरुले नेपाल आर्मीको माथिल्लो ओहोदामा समेत रहेर काम गरेका छन् । उहाँका बुबा भने खेतीपाती तथा व्यवसायमा हुनुहुन्थ्यो । २÷३ जना बहिनी भइसक्दासमेत भाइ नजन्मिएकाले पनि तत्कालिन समाजको सोचअनुसार पनि उहाँ परिवारको एकमात्र छोराको रुपमा धनमाथीको रातीगेडी भनेझैँ अत्यन्त माया र स्वतन्त्रतामा हुर्किनुभयो । केहि बर्षपछि मात्र उहाँको भाइ अर्थात बर्तमान सरकारका परराष्ट्रमन्त्री, नेपाली राजनीतिका एक प्रभावशाली नेता एवं कांग्रेस नेता प्रकाशशरण महतको जन्म भएको हो ।
पूर्वअर्थमन्त्री महतको बाल्यकालबेला गाँउमा राम्रो अध्ययनका लागि विद्यालय थिएन । परिवारमा पनि पढ्ने वातावरण नभएकाले महत ६ बर्षको उमेरमै काठमाण्डौ आएर पढ्न थाल्नुभएको हो ।
क्याम्पस पढ्नेक्रममा उहाँ १४ बर्षको उमेरमा जेल पर्नुभयो । २०२१ साल चैत्रमा विद्यार्थी आन्दोलन भयो । देशव्यापी सम्मेलन गर्ने तयारी हुदैगर्दा केहि विद्यार्थी नेता पक्राउ परे । त्यसको विरोधमा निस्किएको जुलुसमा संलग्न महत त्रिचन्द्र क्याम्पसबाट जुलुससहित त्रिपुरेश्वरस्थित आमसभामा पुग्नुभयो । त्यहि आमसभाका क्रममा पुलिसको लाठी प्रहार गर्दा उहाँको टाउको फुट्यो भने खुट्टामा चोट लाग्यो । त्यसबेला महतसहित ४ जना घाइतेलाइ प्रहरीले पक्रेर बीर अस्पतालमा सामान्य उपचारपछि भद्रगोल जेलमा लगेर राख्यो । त्यसबेला परिवारलाइ समेत भेट्न दिइएन । बाहिर आन्दोलन शिथिल हुदैगएपछि आन्दोलन चर्काउन केहि खुराक चाहिएकाबेला विद्यार्थीहरुले घाइते भइ पक्राउ परेका विद्यार्थी महत मरेको खबर सम्प्रेषण गरेर आन्दोलन फेरी चर्काएका थिए । १४ बर्षकै उमेरमा पुलिसको लाठी प्रहारबाट टाउको फुट्दा,खुट्टा मर्किदा र पक्राउ परेर आफु मरेको हल्ला फैलाइदा समेत उहाँको दिमाग स्वतन्त्रता र परिवर्तनको आशामा घुमिरह्यो । त्यसबेला जेलभित्र उहाँको भेट निर्मल लामा,मनमोहन अधिकारी तथा रमेशनाथ पाण्डेलगायतसँग भेट भयो । त्यहिबाट उहाँको राजनीतिक यात्रा सुरुवात भयो । करिब १ महिना बसेर जेलबाट बाहिर निस्कनुभयो ।
पूर्वमन्त्री एवं एमाले नेता लालबाबु पण्डित

पूर्वमन्त्री एवं नेकपा एमालेका पोलिटब्युरो सदस्य लालबावु पण्डितको जन्म विं सं २०१५ मंसिर १९ गते सर्लाहीको धनगडा गाविस ६ मा भएको हो । एक दाजु र एकजना दिदीका कान्छा भाइ पूर्वमन्त्री पण्डित गरिव किसान परिवारमा हुर्किनुभएको हो । दुइ छाक टार्न धौधौ पर्ने परिवारमा जन्मिएका पूर्वमन्त्री पण्डितको परिवारले गुजारा चलाउन पैतृक सम्पती समेत बेच्नु परेको थियो । उहाँका दाजुले बुढामावलीमा बसेर पढ्दै ओभरसियर पास गरेर जागिर खान थालेपछि भने पारिवारिक समस्या विस्तारै टर्दै गयो भने पूर्वमन्त्री पण्डितले दाजुकै सहयोगमा बाँकी पढाइ अगाडी बढाउनुभयो । हुन त एकदेखि पाँच कक्षासम्मको किताव एकैचोटी पढेर पास गरी ६ कक्षादेखि पाल्पाको तानसेनस्थित मद्म पव्लिक बहुउद्देश्यीय हाइस्कुलमा पढ्नुभयो । उहाँले पाल्पाबाटै २०३१ सालमा एसएलसी पास गर्नुभएको हो ।
काठमाण्डौको थापाथलीस्थित थापाथली क्याम्पसमा इन्जिनियरिङ पढेर सर्टिफिकेट तहसम्मको पढाइ सकेर बालाजु यन्त्रशालामा काम गर्नुभयो । जहाँ उहाँविरुद्ध राणा थरका जेनरल म्यानेजरले हेपाहा प्रवृत्तिले राजिनामा दिन दवाव दिएपनि पण्डित स्वयम्ले राणाविरुद्ध बद्लाको भावनामा नजानिदो किसिमले त्यहाँको मजदुर समुहको सभापति बन्नुभयो । त्यसपछि उहाँलाइ भेदभावको व्यवहार गर्ने जेनरल म्यानेजरलाइ नै त्यहाँबाट हटाउन सफल हुनुभयो । ३५÷३६ सालको आन्दोलनमा समेत सक्रिय हुदै पण्डितले पब्लिक एड्मिनिट्रेसन विषयको घरमै स्वअध्यन गर्नुभयो भने त्यसपछि पटक पटक जेल पर्नुभयो । जेलबाटै परिक्षा दिदै पास गरेका पण्डितले पास गर्न बाँकी एउटा विषय सांसद भइसकेपछि त्रिचन्द्र क्याम्पसमा गएर परिक्षा दिएर पास गर्नुभयो । उहाँले विं संः २०४० सालदेखि २०४६ सालको भदौ १६ गतेसम्म भूमिगत जीवन विताउनुभयो ।
१३ महिना जेल पर्दा समेत प्रहरीको एक थप्पड नखाएका र गाली समेत नखाएका पण्डितलाइ कुनै सोधखोज नगरी सिधै पुर्जी थमाइदिन्थे । ३ पटक हनुमान ढोकामा राख्दा २ पटक एक्लै राख्दा बढि पिडा भएको पूर्वमन्त्री पण्डित बताउनुहुन्छ । अरुसँग सम्पर्कबिहिन बनाइ मानसिक रुपमा विछिप्त बनाउने आफुमाथी प्रयास भएको उहाँ बताउनुहुन्छ ।
एकनाथ ढकाल ।

पूर्वमन्त्री एवं नेपाल परिवार दलका अध्यक्ष तथा सांसद एकनाथ ढकाल गोरखाको बोर्लाङ गाविस वडा नम्बर ६ मा जन्मिएका हुन् । नेपालकै पहिलो प्रधानमन्त्री भिमसेन थापा जन्मिनुभएको गाउँ बोर्लाङमा ढकाल जन्मिनुभयो । ऐतिहासिक गोरखाको ऐतिहासिक गाँउ बोर्लाङमा संयुक्त परिवारमा हुर्किएका ढकालका ८ जना दिदीहरुपछि नवौ सन्तानका रुपमा जन्मिएका ढकालका १ जना भाइ पनि छन् । धेरै छोरीहरुपछि जन्मिएका उहाँ बा–आमाका साथै दिदीबहिनीको बिचमा धेरै माया ममतामा हुर्किनुभयो । सानो उमेरमा पूर्वमन्त्री ढकाललाइ उहाँका दिदीहरुले भूइमा राख्नै दिदैनथे । परिवारमा धनमाथीको रातीगेडी जस्तो प्यारो सन्तानको रुपमा उहाँ हुर्किनुभयो ।
४ कक्षासम्म घरबाटै चट्टी बोकेर विद्यालय गएका ढकाल पढाइमा पनि अग्रपङ्तीमै आउनुहुन्थ्यो । वुवाको स्वर्गारोहण हुँदा १५ बर्षको उमेरमा हिड्दै गरेका ढकालले वुवाको क्रियाकर्ममा बसेको कोराबाट सेतो कम्बल बेरेर १ घण्टाको बाटो हिडेर एसएलसी पूर्वतयारी टेष्ट परिक्षा दिनुभयो । जून नौलोपनले त्यसवेलाको समाजलाइ उहाँले क्रान्तीकारी झलक दिनुभएको थियो । सानै उमेरमा वुवाको निधनपछि पारीवारिक जिम्मेवारी सम्हाल्नु परेकाले विद्यालय तहसम्मको उमेरमा कसैको प्रेम सम्वन्धमा नपरेको बताउने पूर्वमन्त्री ढकाल विद्यालय पढाइ सकेर जव पोखरामा क्याम्पस पढ्न जानुभयो, त्यसपछि भने उहाँको क्याम्पसको जीवनमा एक सयभन्दा बढी युवतीहरुबाट प्रेम आयो । तर उहाँले कुनै प्रस्तावलाइ गम्भिर रुपमा लिनुभएन । वुवाको निधनपछि घरबाट विवाह गर्न धेरै दवाव आएपनि उहाँले त्यसलाइ स्विकार गर्न सक्नुभएन । क्याम्पस पढ्दै गर्दादेखि युनिभर्सल पिस नामक अन्तराष्ट्रिय अभियानमा लाग्नुभयो । त्यहि अभियानका क्रममा उहाँ फिलिपिन्स जानेक्रममा त्यहिबाट सम्वन्ध सुरुवात भइ अन्तरजातीय र अन्तराष्ट्रिय विवाह गर्नुभयो । उहाँको अहिले ६ जना छोरीहरु छन् ।
गीता राणा क्षेत्री

मधेसी जनअधिकार फोरम लोकतान्त्रिककी केन्द्रिय सदस्य, सांसद एवं ग्यालेक्सी पब्लिक स्कुलकी प्रमुख गीता राणा क्षेत्रीको जन्म बि. सं. २०१० सालमा काठमाण्डौको ठमेलमा भएको हो । ३ जना दाई र ५ जना दिदीबहिनीहरू गरी ८ जना सन्तानमध्ये पाँचौ सन्तानको रुपमा उहाँको मध्यम वर्गीय परिवारमा जन्म भएको हो । सांसद क्षेत्री बाल्यकालमा निकै नम्र,मिलनसार र सहयोगी स्वभावको हुनुहुन्थ्यो । विशेषगरी बाल्यकालमा उहाँ विभिन्न प्रकारका खेल खेल्न रुचाउनुहुन्थ्यो । मध्यम वर्गीय परिवारमा हुर्किदा बाल्यकालमा उहाँले त्यति ठूलो दुःखको अनुभव गर्नुपरेन । यद्यपी जीवनका आरोह अनि अवरोह र संघर्षका पाटो भने जूनसुकै व्यक्तिको जीवनमा धेरथोर लागु भइ नै हाल्छ ।
औपचारिक शिक्षाको सन्दर्भमा उहाँले भारतको मेरठ युनिभर्सिटीबाट म्याथमा एमएस्सी गर्नुभएको छ भने त्रिभुवन विश्वविद्यालयबाट बिएड सम्मको औपचारिक शिक्षा हासिल गर्नुभएको छ । उहाँले पढाइमा अब्बल ठहरिदै आफ्ना शैक्षिक दिनहरु अगाडी बढाउदै लैजानुभयो । विशेषगरी मध्यम बर्गीय परिवारमा जन्मिएपनि उहाँले कहिल्यै सुखमा मात्तिनुभएन । जीवनमा केहि सपना लिएर अघि बढ्नुपर्छ र अठोटका साथ साधना गरिरहे सफलता प्राप्त हुन्छ भन्ने विस्वासका साथ उहाँले आफ्नो लक्ष्यमा बिचलित हुनुभएन । जीवनयात्राका क्रममा उहाँ वि.सं. २०२९ सालमा वैवाहिक जीवनमा बाधिनुभयो । परिवारमा उहाँको ५ जना छोरीहरु र एकजना छोरा छन् ।
