द्रुतमार्ग द्रुत हुनुपर्ने सांसदहरुको भाषण


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ फागुन १२ बिहीवार ०७:४४ बजे

द्रुतमार्ग द्रुत हुनुपर्ने सांसदहरुको भाषण

काठमाण्डौ,१२ फागुन ।

काठमाडौँ–निजगढ द्रुत मार्गको काम छिटो हुनुपर्नेमा सांसदले जोड दिएका छन् । व्यवस्थापिका–संसद्को सार्वजनिक लेखा समितिको आजको बैठकमा सांसदले ‘फास्ट ट्रयाक’ को काममा ढिलाई नगर्न माग गरेका हुन् ।

द्रुत मार्गमा यस वर्ष छुट्याएको बजेट समेत अहिलेसम्म खर्च हुन नसकेको भन्दै सांसदले नामअनुरुप द्रुत रुपमा काम गरिनुपर्नेमा जोड दिए । बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले भारतीय कम्पनीले बनाएको विस्तृत परियोजना प्रस्तावअनुसार छिटो काम सुरु गरिने प्रतिबद्धता जनाउनुभयो ।मन्त्रिपरिषद्ले गर्ने निर्णय र समितिले दिने निर्देशनअनुसार छिटो काम अघि बढाइने मन्त्री लेखकले बताउनुभयो । समिति सभापति डोरप्रसाद उपाध्यायले छलफलपछि द्रुत मार्गका विषयमा अर्को बैठकमा फेरि छलफल गरेर ठोस निर्णय गरिने बताउनुभयो । सांसद विष्णु पौडेलले यसअघि संसद्ले पारित गरेको नीति कार्यक्रम र बजेट वक्तव्यअनुसार काम अघि बढ्नुपर्नेमा जोड दिनुभयो । आयोजनाको लागत मूल्याङ्कन बढी भएको विषयमा कुरा उठिरहेकाले यसतर्फ गम्भीर हुन पौडेलले सरकारसँग माग गर्नुभयो । सांसद राजन केसीले मार्गको बजेट ९६ अर्ब रुपैयाँबाट एक खर्ब १२ अर्ब रुपैयाँ बनाइनु आपत्तीजनक भएको बताउँदै उपत्यकाबाट तराई जोड्ने मार्ग धेरै भएकाले सबै आवश्यक हो, होइन भन्नेमा सरकारले पुनर्विचार गर्नुपर्ने बताउनुभयो । सांसद भरत साहले पूर्वाधार विकासमा सरकारले ध्यान केन्द्रीत हुनुपर्नेमा जोड दिनुभयो । सांसद रामहरि खतिवडाले नेपालका राजमार्गलाई प्रयोगशाला बनाएर बिपी राजमार्ग जस्तो द्रुत मार्गको अवस्था आउन दिन नहुने बताउनुभयो । सांसदहरु धनराज गुरुङ, डिम्पलकुमारी झा, एकनाथ ढकाल, विकास लम्सालले द्रुत मार्गको कामभन्दा चर्चा धेरै भएकाले अब काममा ध्यान दिन सरकारको ध्यानाकर्षण गराउनुभयो । मन्त्रालयका सचिव धनबहादुर तामाङले नाम द्रुत मार्ग भए पनि त्यसको काममा ढिलाइ भएको स्वीकार गर्दै विस्तृत प्रस्तावलाई विस्तृत इन्जिनियरिङ अध्ययनले सुधार्ने बताउनुभयो ।

सरकारले आर्थिक वर्ष २०६५÷०६६ देखि राष्ट्रिय गौरवको उच्च प्राथमिकता प्राप्त आयोजनाका रुपमा द्रुत मार्गको काम अघि बढाएको थियो । हालसम्म नेपाली सेनाले १ सय १० किलो मीटर ट्रयाक खोल्ने काम सम्पन्न गरेको छ । भारतीय कम्पनीले विस्तृत परियोजना प्रस्ताव पनि तयार पारेको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार