फागुन २,काठमाण्डौ ।
भक्तपुरका विभिन्न क्षेत्रमा जग्गासम्बन्धी विवाद आएको घट्ना कुनै नौलो होइन । पटक पटक स्थानीय सोझा किसानहरुलाई विभिन्न षडयन्त्रमा पारेर भूमाफिया र नापी कार्यालयकै कर्मचारीको मिलेमतोमा जग्गाको नक्सा तलमाथी पारिएको स्थानीय किसानहरु दाबी गर्छन् । भूमाफिया र नापी कर्मचारीकै मिलेमतोमा भएको अझ नौलो,डरलाग्दो र आपत्तिजनक रहस्य पर्दाफास भएको छ ।
घट्ना हो भक्तपुरको मध्यपुर –थिमी नगरपालिका वडा नम्बर १५ स्थित सागबारी क्षेत्रको । सो क्षेत्रका धेरै कित्ता जमिनमा हालसाविकको क्रममा विवाद सिर्जना भएको छ । स्थानीय सोझा किसानहरुलाई नै एकआपसमा लडाएर जग्गा हडप्ने गिरोह सक्रिय रहेको घट्ना बाहिर आएको छ ।
पीडित जग्गाधनी र किसानहरुका अनुसार भूमाफिया र नापीका कर्मचारीको मिलेमतोमा जमिन र नक्साको अवस्था फरक पारिएको छ । धेरै किसानको हातमा लालपुर्जा त छ तर फिल्डमा जमिन खोज्दा भेटिन्न भने कतिपयले वर्षौैंदेखि जमिनमा भोगचलन गरिरहेका छन् तर उनीहरुको नक्सामा जमिन देखिँदैन ।
साविक (पहिलेको) दिब्यश्वरी २ ख मा रहेका धेरै जमिनहरुको वास्तविक अवस्था र नक्सामा जानीबुझी फेरबदल गरिएको छ । भूमाफियाको चलखेलको सिकार भएका सागबारी क्षेत्रका स्थानीय किसान ज्ञानसुन्दर प्याठ भन्छन, ‘दिव्यश्वरी २ ख मा मेरो तीन टुक्रा जमिन छ । जसमा हामीले पुस्तौदेखि खेतीपाती गर्दै आएका छौं । यो जमिन अहिलेको मध्यपुर थिमी नपा –१५ सिट नम्बर १२२९–०१ नक्सामा पर्छ ।’
पीडित स्थानीय युवा ज्ञान सुन्दर प्याठ
ज्ञान सुन्दरका अनुशार उनको बुवा ज्ञानबिसी प्याठको नाममा रहेको कित्ता नम्बर ४६८ को जमिन अहिले पनि प्याठ परिवारले नै भोगचलन गर्दै आएका छन् । नापी कार्यालयमा गएर हेर्दा कित्ता नम्बर ४६८ को धेरै जमिन सँधियार मायादेवी मुनीकारको कित्तामा मिसाइएको छ ।
ज्ञान भन्छन्, ‘नापी कार्यालयका कर्मचारीले फिल्डमा नआइ कार्यालयमै बसेर नक्सा कोरे । अनि एउटा नयाँ कित्ता ४५१ बनाए । अहिले मेरो बुवाको नामको कित्ता नम्बर ४६८ को जमिन मुनिकारको ४५१ मा मिसाइदिएका छन् ।’ सँधियार मायादेवी मुनिकारको ४५१ नम्बरको कित्ता साविक कित्ता नम्बर ४६६ र २०५४ बाट बनेको हो । नयाँ कित्ता बनाउने बेलामै नापीका कर्मचारीहरुले एउटाको जमिन खोसेर अर्काको पोल्टामा हालिदिए ।
नक्सा र भोगचलन फरक भएको प्रमाण

भूमाफीयाबाट आजित ज्ञानसुन्दरले भने, ‘आफ्नो जमिन कतिबेला खोसियो थाहै भएन हजुर ।’ सो क्षेत्रको धेरै कित्ताको छुट्टाछुट्टै विवाद छ । जसमध्ये कित्ता नम्बर ११५८ (छ आना) र ११५९ (१० आना एक पैसा) कै कथा पनि अनौठो छ । यी दुई जमिन साविक नक्सामा देखिन्छन् । तर फिल्डमा गएर हेर्दा यी दुवै जमिन छैनन् । नक्सामा देखिने तर फिल्डमा जमिन नदेखिएपछि गयो चाहिँ कहाँ त ? जवाफ नापीसँग पनि छैन ।
कित्ता नम्बर ११५८ र ११५९ पहिलेको कित्ता नम्बर ११३७ बाट जन्मेका हुन् । पुरानो कित्ता नम्बर ११३७ को क्षेत्रफल १ रोपनी दुई आना अर्थात १८ आना थियो । तर जब यो कित्ताबाट दुई नयाँ कित्ता बन्यो यो बेला २ आना जमिन गायब पारियो । हाल यो जग्गा फिल्डमा भोगचलन र हालसाविकको नक्सामा छैन । यसबाट पनि भूमाफीया र नापीका कर्मचारीको मिलेमतोमा जमिन तलमाथि पारिएको पुष्टि हुन्छ ।
खोलाको जमिन व्यक्तिको नाममा ।
साविक दिव्यश्वरी २ (ख) मा पर्ने सागबारीस्थित हनुमन्ते खोलाले चर्चेको जग्गा २०३१ सालमै नयाँ नक्सा बनाइ खोलाको कित्ता नम्बर १०१२ (२८–३–२,फिल्ड बुकमा खोला) अठ्ठाईस् रोपनी तीन आना दुई पैसालाई कित्ताकाट गरी कित्ता नम्बर ११२० (१७–१४–०) र कित्ता नम्बर ११२१ (१०–५–२) बनाई एकपछि अर्को व्यक्तिलाई बिक्री गरिएको प्रमाणिक कागजात भेटिएको छ ।
खोलाको कित्ता नम्बर १०१२ लाई किन कित्ताकाट गरियो भन्ने जवाफ अहिले नापीका कर्मचारीहरुसँग जवाफ छैन । तर पुराना अभिलेखमा ३१ साल वैशाख ३ गतेको निर्णयबमोजिम यसो गरिएको भन्ने उल्लेख छ । ३१ साल वैशाख ३ गते कुन निकायले त्यस्तो निर्णय गरेको थियो र खोलालाई नम्बरीमा परिणत गरियो स्पष्ट छैन ।
३१ सालमा सरकारी जमिन खोलाबाट आएको कित्ता नम्बर १०१२ हुदै कित्ता नम्बर ११३३ ( ८–४–०–०) बिमली उपाध्यायको नाममा गएको देखिन्छ । जुन कित्ता जग्गा हामीले नक्सामा प्रष्ट देख्न सकिन्छ ।
दिव्यश्वरी २ख को साविक नक्सा.

हालको नक्सा .

उक्त जमिन २०३७–११–२५ गते बिमली उपाध्यायले कित्ताकाट गरी कित्ता नम्बर ११३६, ११३७, ११३८, ११३९, ११४०, ११४१, ११४२ बनाई उक्त जमिन नकलीमाया कुटु, कृष्णलक्ष्मी कुटु, तुइलाल कुटु, कान्छीमाया कुटु,पूर्णकृष्ण,पूर्णकुमार,गणेशमान आदिलाई बेचिएको देखिन्छ । खोलाको कित्ता नम्बर १०१२ ( २८–३–२ ) थियो । ती मध्ये धेरै जग्गा नम्बरी बनाएर व्यक्तिको नाममा गएको देखिन्छ ।
खोलाको जमिन कसरी व्यक्तिको नाममा गयो ? नापी कार्यालय भक्तपुरका पुराना कर्मचारी प्रमोद यादव भन्छन, ‘खोलाले धार परिवर्तन गरेर व्यक्तिको जमिनमा पस्यो भने, नदी उकासको जमिन ती पीडितलाई दिने निर्णय ४८ सालतिर मन्त्रिपरिषदबाट भएको थियो । त्यो अनुसार हुन सक्छ ।’यादवले अनुमान गरेभन्दा धेरै अघि नै ३१ साल वैशाख ३ गतेको निर्णयअनुसार भनेर नदि क्षेत्रको जमिन व्यक्तिको नाममा नामसारी भएको देखिन्छ ।
उक्त क्षेत्रमा हालसाविक लागु हुनुपूर्व सबै व्यक्ति आ–आफ्नो जग्गा बिना विवाद भोगचलन गर्दै आएको तर हालसाविक लागु भएको बेला भूमाफिया र नापी कर्मचारीहरुले खोलाको जग्गामा चलखेल गरी व्यक्तिको जग्गा अपुग भएको प्रमाणित भएको छ । साथै उक्त क्षेत्रको २०२१ सालको नक्सा, (पुरानो कपडाको सक्कल नक्सा) पनि गायब गरिएको छ । २०२१ सालको नापीमा जून जून जग्गा नापी भएको हुन्छ,उक्त जग्गाको फिल्डबुक बनाइन्छ तर फिल्डबुक नभएको कित्तासमेत नक्सामा राखी जग्गा नम्बरी बनाई भूमाफिया र नापी कर्मचारीले ठूलो पैसाको चलखेल गरेको देखिन्छ ।
