उमेर हदबन्दीले २८ कटेका विद्यार्थी नेताको टाउको दुखाई,स्ववियु निर्वाचन फेरि सकसमा


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ माघ १५ शनिवार ०९:४३ बजे

उमेर हदबन्दीले २८ कटेका विद्यार्थी नेताको टाउको दुखाई,स्ववियु निर्वाचन फेरि सकसमा

 

काठमाण्डौ । 

१४ माघ ।।

त्रिभुवन विश्वविद्यालयले आगामी फागुन १४ गतेका लागि स्ववियु निर्वाचनको मिति घोषणा गरेपनि निर्वाचन हुनेमा आशंका पैदा भएको छ । प्रत्येक दुई बर्षको फरकमा हुनुपर्ने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन विगत आठ बर्षदेखि हुन सकेको छैन । यो नहुनुमा विभिन्न राजनीतिक दलनिकट विद्यार्थी संगठनले त्रिभुवन विश्वविद्यालयलाई दोष दिइरहेका छन् भने त्रिभुवन विश्वविद्यालयले विद्यार्थी संगठनलाई दोष दिइरहेको छ ।
स्ववियु निर्वाचन मिति घोषणा यसअघि पनि पटक पटक हुदै आएको र स्थगित हुने गरेको छ । यसपटक पनि फागुन १४ गतेको साइत त्रिविले जुराएपनि निर्वाचनसम्बन्धी निर्देशिका,कार्यतालिका आउन सकेको छैन । स्ववियु निर्वाचन पहिलेजस्तै आइनपुग्दै हराउने हो कि भन्ने आशंका विद्यार्थी संगठन लगायत चासो राख्नै सबैतिर फैलिएको छ ।

swobiu nirbachan

किन हुन सक्दैन स्ववियु चुनाव ?

जव स्ववियु निर्वाचन नजिकिन्छ अघिपछि भन्दा अझ धेरै विवाद हुन्छ विद्यार्थी संगठन बिचमा । निर्वाचन प्रणाली कस्तो हुने ? प्रत्यक्ष,समानुपातिक वा मिश्रित ? भन्नेमा विभिन्न राजनीतिक दलका विद्यार्थी संगठनबिच कुटाकुटसम्मको स्थिती आउछ । अर्कोतर्फ विधानमा भएको उमेर हदको विषयलाई लिएर बाझाबाझ हुन्छ । अनि महत्वपूर्ण कुरा त आफू निकटका मानिसलाई विद्यार्थी बनाएर भर्ना ग¥यो भन्ने दोषारोपण एक संगठनले अर्कोलाई दिन्छ । यो परिस्थितीमा शैक्षिक स्थलजस्तो शान्तीपूर्ण वातावरण हुनुपर्ने क्षेत्रमा हो–हल्ला र कुटाकुटको स्थिति आएपछि स्वभावैले त्रिविले होस् वा सरोकारवाला निकाय स्ववियुको पूर्वनिर्धारित कार्यक्रम स्थगित गर्न वाध्य हुन्छ ।

उमेर हदले बढाएको ज्वरो
२०६९ चैत २३ मा अन्तिमपटक संशोधित स्ववियुको नियमावलीमा उल्लेख उमेरहदसम्बन्धी व्यवस्थाप्रति विभिन्न विद्यार्थी संगठन असन्तुष्ट छन् । त्यस नियमावलीमा स्ववियु निर्वाचनमा कार्यसमितीका लागि उम्मेदवारी दिन चाहने विद्यार्थीको उमेर उम्मेदवारी दर्ता गर्ने अन्तिम मितिसम्ममा २८ बर्ष ननाघेको हुनुपर्नेछ भनिनु नै कतिपय विद्यार्थी नेताहरुलाई स्वास्थ्यमा देखिएको रुघाखोकीबाट एकैचोटी निमोनिया भएजस्तो असहज र हडबडाहट स्थिति उन्पन्न भएको छ ।

किन रुघाखोकीबाट एक्कासी निमोनिया भएजस्तो भयो विद्यार्थी नेतामा ?
स्वास्थ्यस्थितिमा रुघाखोकीबाट निमोनिया एक्कासी हुन्छ या हुन्न,तर मानिसको सोचाईले यस्तो जम्प पटक पटक गरिदिन्छ । यस्तै देखिन्छ विद्यार्थी संगठनका कतिपय नेताहरुमा स्ववियु निर्वाचनबारे नियमावलीमा उल्लेख भएको उमेरहदबारे । किनकी कुनै व्यक्ति राजनीतिमा अगाडी बढ्न विभिन्न संगठनमा संलग्नता कति भएको छ भन्ने उसको इतिहास पनि पल्टाइन्छ । त्यो अवस्थामा विद्यार्थी जीवनमा स्ववियुको नेतृत्व तहमा रहेर काम गरेको भन्ने रह्यो भने त भोलिपर्सी राजनीतिमा अगाडी बढ्न सजिलो हुन्छ भन्ने मानसिकताले आफ्ना छोराछोरीको एसएलसी दिने उमेर भइसक्दा समेत विद्यार्थी राजनीतिमै झुण्डिनेहरु छन् । बर्षौदेखि विद्यार्थी राजनीतिमा स्ववियुको निर्वाचन ताकिरहेका २८ बर्ष उमेर कटिसकेका आँखाहरु टन्नै छन् । यस्तो स्थिति अन्य राजनीतिक दलका भातृसंगठनमा भन्दा नेपाली कांग्रेसनिकट नेविसंघमा बढि देखिन्छ । यसर्थ क्याम्पसमा बर्षौदेखि आफ्नो पकड बनाइरहँदा अन्त्यमा चुनावमा भने उठ्न नपाएपछि स्वभावैले कोहिपनि शान्त भएर बस्न सक्दैन । त्यहि परिस्थितिले २८ बर्ष उमेर कटेका विद्यार्थी नेताहरुमा अहिले यसो गरुँ कि उसो भन्ने दोधारपन र आफूले पनि उम्मेदवारी दिन पाउनैपर्छ भन्नेमा मुट्ठी कसेका छन् ।

tu

उमेर हदबन्दी कत्तिको जायज ?
उमेर हदबन्दीबारे विद्यार्थी संगठनभित्रै फरक मत छ । २८ बर्ष उमेर कटिसकेका विद्यार्थी नेताहरु जसरी पनि आफुहरु उठ्नै पाउनुपर्छ भन्ने पक्षमा देखिन्छन् । उसैका पछाडिका नेता,कार्यकर्ता उमेरहद लागु भए आफुले चान्समा डान्स मार्न पाइन्थ्यो कि भन्ने आशामा देखिन्छन् । अर्कोतर्फ विधान संशोधनमा २०७२ बैशाख २० पछि हुने निर्वाचनमा यो उमेर हदबन्दी लागु हुने भनेको छ तर विद्यार्थी संगठनका कतिपय नेताहरु विधान संशोधन पछिको पहिलो निर्वाचनमा उमेर हद नलाग्ने सहमति भएकाले सोहिअनुसार हुनुपर्ने अडान राख्छन् । यद्यपी कतिपय विद्यार्थी राजनीतिबाट नै पार्टी राजनीतिमा पुगेका नेताहरु उमेरको हदबन्दी नलाग्दाखेरी त्यहाँ गैर विद्यार्थीहरु बढी हाबी हुने दाबी गर्छन् । जसले गर्दा स्ववियुमा अनावश्यक रुपमा राजनीतिकरण हुने,नाममात्रका विद्यार्थी भएपछि स्ववियुबाट नै आफ्नो आर्थिक उपार्जन गर्ने हुँदा स्ववियु र विश्वविद्यालयलाई पनि ठूलो भार परेको उनीहरुको आरोप छ । यो अर्थमा पनि उमेर हदबन्दी आवश्यक देखिन्छ तर स्ववियुको निम्ति भनेर पढाइ सकिएपछि पनि दसौँ वर्ष सभापतिका लागि वा पदाधिकारीका लागि भन्दै कुरेर बस्नेहरुको भने बेहाल हुन्छ ।

स्ववियु नै किन आवश्यक ? भन्ने प्रश्न पनि उठिरहेको पाइन्छ । विद्यार्थीको हकहितका लागि भन्दै यो र त्यो संगठन नै शैक्षिक संस्थामा त्यो पनि विद्यार्थी संगठनको अनावश्यक हो भन्नेहरु पनि छन् । वास्तवमा विद्यार्थीको काम शैक्षिक संस्थामा पढ्ने नै हो । राजननीति गर्ने होइन । यो बहसतर्फ गइरहनुभन्दा पनि पूर्वघोषित स्ववियु निर्वाचनबारे टाउको दुखाएर बस्नुभन्दा विद्यार्थी संगठन र त्रिविबिचमा नियमावली लगायत अहिले विवाद सृजना गर्ने सबै विषयमा सहमति हुनु आवश्यक छ । जसले सम्बद्ध सबैको टाउको दुखाई हट्ने निश्चित छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार