काठमाण्डौ, १३ पुस ।
नेकपा माओवादी केन्द्रले राजनीतिक सहमतिका आधारमा चाँडै स्थानीय तहको निर्वाचन घोषणा गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको माओवादी केन्द्रको हेर्डक्वाटरको बैठकले प्रतिपक्षी नेकपा एमाले र मधेसी मोर्चासँग गहन छलफल गरी स्थानीय तहको निर्वाचन घोषणा गर्ने निर्णय गरेको हो ।
बैठकले संविधान संशोधन प्रक्रिया अघि बढाउन एमालेलगायतका प्रतिपक्षी दलहरुसँगको छलफललाई तीव्रता दिने निर्णय समेत गरेको छ । यस्तै संविधान संशोधन प्रस्ताव पारित गर्न ढिलाई भएको भन्दै प्रस्ताव पारित गरेर निर्वाचनमा जुट्ने निर्णय गरेको केन्द्रका प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो ।
बैठकले निर्वाचनमा जानका लागि चाहिने आवश्यक कानुन बनाउन अन्य दलसँग परामर्श गर्ने निर्णय गरेको छ । बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहालले संविधान संशोधनका विषयमा अहिलेसम्म अन्य दलसँग भएको छलफलका बारेमा जानकारी गराउँनुभएको थियो ।
