काठमाण्डौ
मंसिर २८
श्रीलंकामा पर्सीबाट शुरु हुने अण्डर–१९ विश्वकपमा सहभागी हुन नेपाली क्रिकेट टोली कोलम्बो प्रस्थान गरेको छ ।
आज मध्यान्ह त्रिभुबन अन्तराष्ट्रिय विमानस्थलबाट टोली कोलम्बो प्रस्थान गरेको क्यानले जनाएको छ । राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेको कप्तानीमा रहेको अण्डर–१९ टोलीको प्रशिक्षकमा विनोद दास रहनु भएको छ । नेपाली युवा टोलीले मंसिर ३० गतेबाट शुरु हुने प्रतियोगिताको पहिलो खेल आयोजक श्रीलंकासंग खेल्नेछ । यस्तै नेपालले समुह ए मै रहेका टेस्ट मान्यता प्राप्त टोली भारतसंग पुस १ गते र मलेसियासंग पुस ३ गते प्रतिष्पर्धा गर्नेछ । अण्डर १९ को टोलीमा यसपटक देशका विभिन्न ठाउँमा सञ्चालन गरिएको ‘ट्यालेन्ट हन्ट’का आधारमा खेलाडीहरु छनौट गरिएको हो । विश्वकपमा हालसम्म पनि समुह चरण पार गर्न नसकेको नेपाली टोलीले यसपटक भने उपाधि भिडन्तसम्म पुग्ने लक्ष्य लिएको छ ।
