चीनमा हुने थ्रि भर्सेस थ्रि फुटबलको वल्र्ड च्याम्पियनसिपमा नेपाली खेलाडीले समेत सहभागिता जनाउने भएका छन् । राष्ट्रियस्तरको ए डिभिजन लिग खेलिसकेको सरस्वती युवा क्लबका खेलाडीले यहि मंसिर ११ देखि १६ गतेसम्म हुने प्रतियोगितामा भाग लिदैछन् ।
यो खेल सडकमै खेलिन्छ । विश्व फुटबल महासंघ फिफा अन्तर्गतको ईन्टरनेशनल स्ट्रिट फुटबल फेडेरेशन आईएसएफआईले गर्न लागेको च्याम्पियनसिपमा भाग लिन प्रशिक्षक र व्यवस्थापक सहित ७ जना आईतबार नै चीन जादैछन् । नोभेम्बरकै पहिलो र दोस्रो तारिखमा थ्रि भर्सेज थ्रि फुटबल प्रतियोगिताको विश्वकप लात्भियामा सम्पन्न भयो । तर भिसा प्रकृयामा समय लागेकाले नेपाली टोली सहभागी हुन नसकेको सरस्वती युवा क्लवका अध्यक्ष उत्तमराज भण्डारीले बताए । ‘थ्रि भसेज थ्रि फुटबलको विश्वकपमा निम्तो आएरपनि सहभागिता जनाउन सकिएन । नेपाली खेलाडीको कौशल,मेहेनत बुझेको आयोजकले यो च्याम्पियनसिपमा आमन्त्रण गरेको छ’ उनले भने ।
प्रतियोगितामा सहभागी हुने खेलाडीहरुलाई बिदाई गर्दै बागमती प्रदेशका सांसद सुनिल केसीले खेल क्षेत्रले नै देशको नाम संसारभर फैलाउन सक्ने बताए । ‘मेस्सीले गर्दा अर्जेण्टिना चिनिएको छ । रोनाल्डोले गर्दा ब्राजिल र अहिले अर्को रोनाल्डोले गर्दा पोर्चुगल चिनिएको छ’ सांसद केसीले भने । नेपाली खेलाडीले समेत मेहेनत गर्नसकने नेपालप्रति विश्वको नजर जाने उनले बताए ।
प्रतियोगितामा सहभागी हुन प्रशिक्षक अशिम अर्याल,व्यवस्थापक विकल्प खरेल टिम क्याप्टेन दिपेश घले सहित खेलाडीहरु शुभाशिष शर्मा,शतिस पराजुली,देभाशिष शर्मा, र पेम्बा दोर्जे लामा चीन जादैछन् । टोलीलाई क्लवका अध्यक्ष उत्तमराज भण्डारी,सांसद सुनिल केसी,क्लवका पूर्वअध्यक्ष बलराम ढकाल र सल्लाहकार अच्युत पराजुलीले बिदाई गरे ।