काठमाण्डौ
मंसिर २५
संसदमा दर्ता संविधान संशोधन प्रस्तावले अवरुद्ध संसदको गतिरोध हटाउने विषयमा सभामुख ओनसरी घर्तीमगर र प्रधानमन्त्री पुष्पकमल दाहालबीच छलफल भएको छ ।
आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा संसदको गतिरोध हटाउने विषयमा छलफल भएको सभामुख घर्तीका प्रेस सल्लाहकार बबिन शर्माले जानकारी दिनुभयो । बैठकमा सभामुखले संशोधन प्रस्तावपछि अन्य कुनै पनि कार्यसूचीमा बैठक प्रवेश गर्न नसकेको विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो । जवाफमा प्रधानमन्त्री दाहालले संसदको अवरोध फुकाउने विषयमा आफु पनि गम्भीर भएको भन्दै सहमतिका लागि छलफललाई निरन्तरता दिने बताउनुभयो । सभामुख र प्रधानमन्त्रीबीच हिजै छलफलको तयारी भएपनि प्रधानमन्त्री दाहालको कार्यव्यवस्थताका कारण छलफल आज भएको हो । सरकारले संसद सचिवालयमा दर्ता गराएको संविधान संशोधन प्रस्तावको विरोधमा प्रमुख प्रतिपक्षी दल एमालेसहितका केही दलले लगातार संसदमा अवरोध गरेपछि त्यसबारे सभामुख घर्तीमगरले प्रधानमन्त्री दाहालसँग छलफल गर्नुभएको हो ।
