काठमाण्डौ
मंसिर २०
सरकारले दर्ता गराएको संविधान सशोधन विधयेकमा प्रदेश नं. ५ को पहाड र तराईलाई अलग–अलग बनाउने प्रस्ताव गरेको विरोधमा आजपनि विहानैदेखि विभिन्न जिल्लाहरुमा प्रदर्शन जारी छ ।
अहिले केही स्थानमा निषेधित क्षेत्रको प्रवाह नगरी रुपन्देही, गुल्मी, अर्घाखांची, रोल्पा र प्यूठानमा पनि नाराबाजी भैरहेको छ । संविधान संशोधनको विरुद्ध संस्थागत निर्णय गरेको एमालेसहितका अरु दलका नेता कार्यकर्ता पनि आन्दोलनमा लागेका छन् । सत्तारुढ कांग्रेस र माओवादी केन्द्रले संशोधन प्रस्ताव दर्ता गराएपनि प्रदेशस्तरमा ति दलकै कार्यकर्ताले त्यसलाई ठाडै चुनौति दिदै आन्दोलनमा छन् । कांग्रेस माओवादी केन्द्रका केन्द्रीय नेता र सांसदनै सरकारी प्रस्तावविरुद्ध प्रदर्शनमा सहभागि छन् । ति स्थानमा यातायात, पसल, सरकारी कार्यालय सबै बन्द गरिएको छ भने शैक्षिक संस्था पनि खोल्न दिइएको छैन । प्रदेश नं ५ बाट पहाडी जिल्ला छुट्याउने गरी संशोधन प्रस्ताव संसदमा दर्ता भएलगत्तै बन्द भई हिजो खुलेको अर्घाखाँची आजबाट फेरी बन्द भएको छ । पाँच दिनदेखि अनिश्चितकालीन बन्द भएको अर्घाखाँची हिजो विहान ११ बजेबाट आज विहान ११ बजेसम्म २४ घण्टाको लागी खुलाईएको थियो । तर आजदेखि फेरी बन्द भएपछि बजार, उद्योगधन्दा तथा कलकारखाना ठप्प भएका छन् ।
उता, स्थानीय प्रशासनले कपिलवस्तु जिल्ला सदरमुकाम तौलिहवा क्षेत्रलाई आज बिहान ६ बजेबाट निषेधित क्षेत्र तोकेको छ । जिल्ला सुरक्षा समितिका अध्यक्ष एवम् निमित्त प्रमुख जिल्ला अधिकारी भरतकुमार बुढाथोकीको अध्यक्षतामा गएराति बसेको जिल्ला सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको हो ।संविधान संशोधन प्रस्ताव दर्तापश्चात् कपिलवस्तु जिल्लाको विभिन्न स्थानमा त्यसको विरोध र समर्थनमा निस्किएको जुलुस, सभा र पुत्ला दहन जस्ता विभिन्न कार्यक्रमले गर्दा जिल्लाको शान्ति सुव्यवस्थामा खलबल हुनसक्ने अवस्था देखिएकाले यस्ता खालका क्रियाकलापलाई हुन नदिन र जिल्लाको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै निषेधित क्षेत्र घोषणा गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी बुढाथोकीले बताउनुभयो ।
