काठमाण्डौ
मंसिर १८
संसदमा दर्ता भएको संशोधन प्रस्तावमा ५ नम्बर प्रदेश टुक्र्याएर पहाड र तराईका जिल्ला अलग पारेको विरोधमा आज पनि रुपन्देही, पाल्पा, गुल्मीलगायतका जिल्लामा विहानैदेखि प्रदर्शनकारीले आन्दोलन सुरु गरेका छन् ।
बुटवलस्थित हाम्रा सहकर्मीका अनुसार मुख्य सडकमा बिहानैदेखि राजनीतिक दलका नेता, कार्यकर्ता, नागरिक समाजका अगुवा, व्यापारी तथा सर्वसाधरण भेला भएका छन् । उनीहरुले आज पनि बन्दको आह्वान गरेका छन् । संयुक्त आन्दोलन समितिले आज पनि प्रदर्शन जारी राख्ने जनाएको छ ।
त्यस्तै पाल्पामा पनि त्यहाँ क्रियाशिल राजनीतिक दल, युवा, विद्यार्थी, नागरिक समाज, उद्योगी व्यवसायिसहितको सहभागितामा गरिएको अनिश्चितकालिन बन्दले बिहानैदेखि त्यहाँको जनजीवन प्रभावित बनेको छ । बन्दका कारण बिहानैदेखि मुख्य सडकमा सवारी साधन चल्न सकेका छैनन् भने उद्योगधन्दा, व्यापार व्यवसाय पनि ठप्प छन् । आफुहरुको मागप्रति सरकार गम्भीर नभएको भन्दै आज पनि प्रदर्शनकारी बिहानैदेखि सदरमुकाम तानसेनमा प्रदर्शनको तयारीमा लागेका छन् । सरकारले संविधान संशोधन विधेयकमार्फत ५ नम्बर प्रदेशमा रहेका जिल्ला टुक्र्याएको विरोधमा पाल्पाका राजनीतिक दल भातृ संघसंगठन तथा व्यापारीहरु मंसिर १५ गतेदेखि निरन्तर आन्दोलनमा छन् । सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन विधेयक फिर्ता नलिएसम्म आन्दोलन जारी राख्ने उनीहरुले बताउँदै आएका छन् ।
त्यसैगरी अनिश्चितकालिन बन्दका कारण गुल्मीमा पनि बिहानैदेखि जनजीवन प्रभावित भएको छ । विद्यार्थीसहित स्थानीय बिहानैदेखि सडकमा उत्रिएका छन् । पाँच नम्बर प्रदेश टुक्र्याउने संशोधन प्रस्तावको विरोध गर्दै उनीहरु आज पनि प्रदर्शनको तयारीमा लागेका हुन् । असन्तुष्ट पक्षको माग सम्बोधन गर्न भन्दै सरकारले संसदमा दर्ता गराएको संशोधन विधेयकमा पाँच नम्बर प्रदेशका पहाडी जिल्लाहरु रुकुमको पूर्वीभाग, रोल्पा, प्युठान, गुल्मी, अर्घाखाँची र पाल्पालाई चार नम्बर प्रदेशमा राखिएको छ भने पाँच नम्बरमै रहेका केही जिल्लालाई टुक्र्याएर चार नम्बर प्रदेशमा राखिएको छ । त्यसैको विरोधमा ती जिल्लाहरुमा आन्दोलन चर्किदै गएको हो । यसअघि हिजो पनि ती जिल्लाहरुमा विशाल प्रदर्शन भएको थियो ।
