काठमाण्डौ
मंसिर ११
नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले संविधानलाई लिएर मधेसी जनतामा कुनै असन्तुष्टि नरहेको बताउनुभएको छ । आज वीरगन्जमा प्रेस चौतारी नेपाल पर्सा शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता खनालले संविधानमा हिमाल, पहाड र तराई सबै क्षेत्रका नागरिकको हक अधिकार सुनिश्चित गरिएको दाबी गर्नुभयो ।
संविधान संशोधनको माग आम मधेसी जनताको नभई मधेसी दलको मात्र रहेको उहाँले बताउनुभयो । अहिलेको संविधान लोकतान्त्रिक, प्रगतीशील र समाजवादी संविधान रहेको भन्दै नेता खनालले एमाले संशोधनको पक्षमा नभइ संविधान कार्यान्वयन गर्ने अडानमा रहेको बताउनुभयो । तीन दल एक ठाँउमा आएर राष्ट्रिय सहमति कायम गरि २०७४ सालको माघ भित्र तीनै तहको निर्वाचन गरी संविधान कार्यान्वयन गर्न सकिएन भने मुलुकमा संकट आउने निश्चित रहेको एमाले नेता खनालले उल्लेख गर्नुभयो ।
