काठमाण्डौ
मंसिर ११
सत्तारुढ नेकपा माओवादी केन्द्रले संविधान संशोधनका विषयमा साझा धारणा बनाउन अझै प्रयास गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालको निजी निवास लाजिम्पाटमा आज बसेको माओवादी केन्द्रको केन्द्रिय कार्यालय बैठकले संशोधन प्रस्तावमा सहमति जुटाउने गरी भोलि विहानसम्म प्रयास गर्न उपयुक्त हुने निष्कर्ष निकालेको हो ।
संशोधन प्रस्तावको विपक्षमा एमालेले कडा रुपमा प्रस्तुत हुने तयारी गरेपछि सत्तारुढ दल र मधेसी मोर्चाबीच समान धारणा बनाउन अझै प्रयास गर्ने निर्णय लिएको हो ।बैठकमा प्रदेश सीमाङकनका विषयमा सरकारले तयार गरेको मस्यौदामाथि नेताहरुले धारणा राख्ने क्रम जारी राखेको पार्टिकी प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो । श्रोतका अनुसार केही नेताहरुले सरकारले तयार गरेको संशोधन प्रस्तावको आलोचना समेत गरेका छन् । बैठकमा सहभागी एक नेताका अनुसार संविधान संशोधनपछि पार्टीबारे जनतामा गलत धारणा पैदा हुन नदिन पार्टी नेतृत्वलाई सजग गराएका छन् । प्रमुख प्रतिपक्ष एमालले संविधान संशोधन प्रस्तावमा असहमति जनाएपछि सत्तारुढ दलहरु आ–आफ्नो पार्टीभित्रबाट संस्थागत निर्णय गराई भोलि संसदमा प्रस्ताव पेश गर्ने रणनीतिमा लागेका छन् । यसैबीच आज दिउँसो नै माओवादी केन्द्रले पार्टीको पोलिटव्यूरो वैठक पनि बोलाएको छ ।
बैठकमा संविधान संशोधन प्रस्ताव दर्ता गर्ने विषयमा हेडक्वाटर बैठकले गरेको निर्णय अनुमोदन गरिनुका साथै समसाययिक राजनीतिक घट्नाक्रम र पार्टीको सांगठानिक संरचनाबारे छलफल हुने सो पार्टी प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो ।
