काठमाण्डौ
मंसिर १०
सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले ५ नम्बर प्रदेशलाई टुक्र्याउने गरि संविधान संशोधन प्रस्ताव ल्याए आफूले त्यसको विपक्षमा मतदान गर्ने बताउनुभएको छ ।
काठमाण्डौमा आज आयोजित एक कार्यक्रममा नेता रायमाझीले सरकारले ५ नम्बर प्रदेशलाई तलमाथि गर्नेगरि संशोधन प्रस्ताव ल्याए आफू त्यसको विपक्षमा मतदान गर्ने चेतावनी दिनुभएको हो । रायमाझीले विवाद नै नएको ५ नम्बर प्रदेशलाई टुक्र्याउँदा कसैलाई पनि फाईदा नहुने जिकिर गर्दै यसबारे विपक्षमा मतदान गर्दा पार्टीले कारवाही गरेपनि आफूलाई कुनै फरक नपर्ने स्पष्ट पार्नुभयो । सोहि कार्यक्रममा नेपाली काँग्रेसका नेता एन.पी. साउदले संविधान संशोधनमा प्रमुख प्रतिपक्षी दल एमालेलाई विश्वास लिएर अघि बढ्नुपर्ने बताउनुभएको छ । उहाँले संविधान संशोधनमार्फत असन्तुष्टहरुको मागलाई सम्बोधन गर्नुपर्नेमा जोड दिदै यसमा एमालाई पनि सहभागी गराउनुपर्ने बताउनुभयो ।
त्यस्तै, एमाले नेता रघुविर महासेठले सरकारले अहिले संविधान संशोधन नभई कार्यान्वयन आवश्यक भएको बताउनुभयो । वर्तमान सरकारले संविधान संशोधनको प्रोपागाण्डा मच्चाएर संविधान कार्यान्वयन हुन नदिने नाटक मञ्चन गरिरहेको उहाँको आरोप छ ।
