काठमाण्डौ
मंसिर ७
डिसेम्बर २६ बाट भारतको सिलगुडीमा शुरु हुने महिला साफ च्याम्पियनसिप फुटबलको बन्द प्रशिक्षणका लागी ४२ जना खेलाडीको छनौट गरिएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले पहिलो चरणमा खेलाडीबाट बन्द प्रशिक्षणको लागि आज ४२ खेलाडीको छनोट गरेको हो ।

मुख्य प्रशिक्षक कुमार थापा र एन्फाका मुख्य प्राविधिकहरुको टोलीले ५ जना गोल किपर, १५ जना डिफेन्डर, १४ जना मिडफिल्डर र ८ जना महिला स्ट्राइकरलाई पहिलो चरणमा बन्द प्रशिक्षणमा बोलाएको छ । एन्फाले अबको एक हप्तामै बन्द प्रशिक्षणबाट ३० खेलाडी छनोट गरी साफ च्याम्पियनशिपमा सहभागी हुने नेपाली राष्ट्रिय महिला फुटबल टोलीको घोषणा गर्नेछ । जनवरी ४ सम्म चल्ने महिला साफ च्याम्पियनसिपको समुह ‘ए’मा रहेको नेपालले पहिलो खेल भुटानसँग खेल्नेछ । यस्तै नेपालले २८ डिसेम्बरमा माल्दिभ्स र ३० डिसेम्बरमा श्रीलंकासंग प्रतिष्र्धा गर्नेछ ।
प्रतियोगितामा समुह बीबाट डिफेन्डिङ च्याम्पियन भारत, बाङ्लादेश र अफगानीस्तान पनि सहभागी छन । नेपाली महिला फुटबल टोलीले साफ च्याम्पियनशिपको फाइनल पुगेपनि अहिलेसम्म उपाधि जित्न सकेको छैन ।
