काठमाण्डौ
मंसिर ६
ने.क.पा. माओवादी केन्द्रले संविधान संशोधनबारे आवश्यक निर्णय लिने जिम्मा पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई दिएको छ । प्रधानमन्त्री समेत रहनुभएका पार्टी अध्यक्ष दाहालको निजी निवास लाजिम्पाटमा आज विहान बसेको माओवादी केन्द्रको केन्द्रीय कार्यालय समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले आज साझ बस्ने प्रमूख तीन दलका शीर्ष नेताहरुको बैठकमा संविधान संशोधनका विषयमा छलफल र आवश्यक निर्णय लिन पार्टी अध्यक्ष दाहाललाई अधिकार दिएको पार्टि प्रवक्ता पम्फा भुसालले बताउनुभयो । बैठकले राष्ट्रिय भेलाको सट्टा स्थानीय तहको चुनावमा केन्द्रित हुने निर्णय गरेको छ । दाहाल नेतृत्वको वर्तमान सरकारले आगामी चैतमा स्थानीय तहको चुनाव गर्ने बताउदै आएको छ ।. नेताहरुका अनुसार अब सबै नेता कार्यकर्ताहरुलाई चुनावको तयारीमा केन्द्रित गरिने छ । त्यसकै तयारी स्वरुप मंसिर ११ र १२ गते पोलिटव्यूरो बैठक बोलाइएको छ । बैठकले पार्टीको आन्तरिक संगठनबारे छलफल गर्न पोलिटव्यूरो बैठक बोलाउने निर्णय गरेको प्रवक्ता भुसालले जानकारी दिनुभयो ।
यही मंसिर २ गते हुने भनिएको माओवादी केन्द्रको राष्ट्रिय भेला अनिश्चितकालका लागि स्थगित भएको छ । माओवादीको राष्ट्रिय भेला पटक(पटक मिति तोकिँदै स्थगित हुँदै आएको छ । बैठकमा पार्टीको आन्तरिक संगठनात्मक संरचना र संविधान संशोधनका विषयमा पनि छलफल भएको थियो ।
