लोकमान महाअभियोग थन्क्याएर सभामुख रुसतिर टाप !


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ मंसिर ५ आइतवार २१:२९ बजे

लोकमान महाअभियोग थन्क्याएर सभामुख रुसतिर टाप !

काठमाण्डौ
मंसिर ५
मुलुकको राजनीति अझै केहि हप्ता अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्तावमाथी अल्झिने भएको छ । कार्कीविरुद्धको महाअभियोग प्रस्तावमाथीको छलफल आज सक्ने आफ्नो प्रयासबाट सभामुख ओनसरी घर्ती असफल हुनुभएको छ ।

आजको बैठकमा महाअभियोग प्रस्तावमाथीको छलफल सकेर रुस भ्रमणमा निस्कने सभामुखको तयारी थियो । तर आज नै छलफल सक्ने वातावरण मिलाउन प्रमुख दलका नेताहरुलाई आग्रह गरेपनि त्यसो हुन नसकेपछि छलफल लम्बिएको हो । सभामुख घर्ती करिब १ हप्ताको लागि आज रुस भ्रमणमा जाने भएपछि संसद बैठक ९ दिनसम्मका लागि स्थगित भएको छ । अब आगामी १४ गते बस्ने संसद बैठकमा समेत कार्कीविरुद्धको महाअभियोग प्रस्तावमाथीको छलफलले निरन्तरता पाउने भएको छ । अख्तियार प्रमुख कार्कीविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता भएको महिना दिन बितिसक्दा जम्मा ५ दिनमात्र संसदमा छलफल भएको छ । संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले महाअभियोग प्रस्तावबारे आधिकारीक धारणा नबनाउदा उसकै सांसदबिच यसबारे मतभिन्नता हुदै आएको छ । सत्तारुढ नेकपा माओवादी केन्द्र,प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र अन्य केहि साना राजनीतिक दल कार्कीविरुद्धको महाअभियोग प्रस्तावको पक्षमा स्पष्ट उभिएपनि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आवद्ध मधेसकेन्द्रित दलहरु र संसदकै पहिलो दल कांग्रेसले भने अझै आधिकारीक धारणा बनाउन सकेका छैनन् । महाअभियोग प्रस्तावमाथी बोल्न नाम टिपाउने सांसदहरुको संख्या धेरै भएकाले आगामी बैठकमा पनि यस विषयमाथीको छलफलले निरन्तरता पाउने सभामुख घर्तीले बताउनुभयो । गएको कात्तिक ३ गते संसदमा नेकपा माओवादी केन्द्र र नेकपा  एमालेका एक सय ५७ सांसदले कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराएका थिए ।


प्रतिक्रिया

सम्बन्धित समाचार