काठमाण्डौ
मंसिर ३
सांसदहरुले स्थानीय निकायको निर्वाचनको मिती तोक्न माग गरेका छन् । आज बसेको व्यवस्थापिका संसदको बैठकमा नेपाली काँग्रेसका सांसद दीपक खड्काले पुरानो संरचनाअनुसार नै स्थानीय निकायको निर्वाचन मिति समयमा तोक्नुपर्ने बताउनुभयो ।
त्यस्तै संविधान संशोधन विधेयक ल्याउन र पुनःनिर्माणका कामलाई गति दिन पनि सांसदहरुले सरकारलाई आग्रह गरेका छन् । बैठकको विशेष समयमा बोल्दै सत्तारुढ नेकपा (माओवादी केन्द्र) का सांसद गिरिराजमणि पोखरेलले सरकार सरकारले लिनुपर्ने गति लिन नसकेको बताउँदै संविधान कार्यान्वयनका लागि सहमतिमा संविधान संशोधन विधेयक सदनमा प्रस्तुत गर्न माग गर्नुभयो । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का सांसद गङ्गालाल तुलाधारले सांसद् विकास कोषअन्तर्गत पाँच लाख विनियोजन गरेर विपद् जोखिम न्यूनीकरणको शिक्षा दिने कार्यक्रम सञ्चालन गर्न आग्रह गर्नुभयो । एमालेकै गणेशमान गुरुङले विभिन्न विश्वविद्यालयमा तोडफोड र पदाधिकारीमाथि भएका आक्रमण रोक्न सरकारसँग माग गर्नुभयो । यस्तै शून्य समयमा सांसदले सडक निर्माण, भूकम्पपछिको पुनःनिर्माण, काठमाडाँै उपत्यकाको ट्राफिक व्यवस्थापन, जनस्वास्थ्य आदिबारे सदनको ध्यानाकर्षण गराउनुभयो ।
