काठमाण्डौ
मंसिर ३
थाइल्याण्डमा हुने एसिया कप ट्वान्टी ट्वान्टी महिला क्रिकेटका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा गरिएको छ ।
तीन सदस्यीय छनौट समितिले रुविना क्षेत्रीको कप्तानीमा आज १५ सदस्यीय नेपाली राष्ट्रिय टोलीको घोषणा गरेको प्रमुख कार्यसञ्चालन अधिकृत थुम्बी लामाले जानकारी दिनुभयो । लामाका अनुसार १५ सदस्यीय नेपाली क्रिकेट टोलीमा इन्दु बर्मा, काजल श्रेष्ठ, करुणा भण्डारी, नेरी थापा, ज्योति पाण्डे, नीरा राजोपाध्याय र रश्मी शर्मा चौलागाइँले स्थान बनाएका छन्। यसैगरी संगीता राई, शोभा आले, रोशनी बोहोरा, सवनम राई, सीता मगर, सरस्वती कुमारी चौधरी र सीता रानामगरलाई पनि टोलीमा परेका छन् । एसिया कप छनौट खेल खेलेकी निर्मला शाहीलाई भने यसपटक टोलीमा समावेश गरिएको छैन । लामाका अनुसार भारतीय रेल्वेका लागि प्रशिक्षणका क्रममा घाइते भएपछि उनलाई टोलीमा समावेश नगरिएको हो ।
एसिया कप महिला ट्वान्टी ट्वान्टी क्रिकेट प्रतियोगिता आगामी नोभेम्बर २६ देखि डिसेम्बर ४ सम्म चल्नेछ । प्रतियोगितामा नेपालले एसियाली टेष्ट मान्यता प्राप्त राष्ट्रहरु पाकिस्तान, श्रीलंका, बंगलदेश, थाइल्याण्ड र छिमेकी देश भारतसँग खेल्नेछ ।
