काठमाण्डौ
मंसिर १
संसदको विकास समितिका सभापति रविन्द्र अधिकारीले नेपालका मन्त्रालय भारत र पाकिस्तानजस्ता भएको टिप्पणी गर्नुभएको छ । एक सय दुई वटा बैठक सम्पन्न गरेको समितिले गरेका निर्णय र निर्देशनको समीक्षा बैठकमा आज सभापति अधिकारीले यस्तो बताउनुभएको हो ।
अधिकारीले विकास निर्माणका काममा सरकारले प्राथमिकता दिनुपर्नेमा हरेकजसो मन्त्रालयले आआफ्नो ठाउँमा काम अड्काउने काम गरेको टिप्पणी गर्नुभएको हो । अन्तरमन्त्रालय समन्वय नहुँदा धेरै काम अड्किएको बताउँदै उहाँले नेपालका मन्त्रालयहरु भारत र पाकिस्तान जस्ता भएकै कारण विकास निर्माण प्रभावित भइरहेको बताउनुभयो । उहाँले कर्मचारीहरुले नै जानीबुझी विकास निर्माणका लागि गुणस्तरीय सामग्री खरिद नगरेको र कुनै ठूला काम पनि दिगो नभएको आरोप लगाउनुभयो । राष्ट्रिय योजना आयोगले पनि योजनाहरु स्वीकृत गर्न ढिला गरेको र आफूअनुकूलका योजना छिटो अघि बढाउने र १४ तह पार गरेर जनताबाट छानिएका योजना आइपुगिहाले पनि अल्झाएर ढिलो गर्ने गरेको उहाँको भनाई थियो । खल्तीबाट योजना हाल्ने प्रवृत्ति अझै हावी भएको भन्दै उहाँले बजेट पारित भएको छ महिनासम्म स्वीकृत नहुने र त्यसपछि टेण्डरका क्रममा मन्त्रालय वा विभागले अरु दुई तीन महिना लगाउने भएकाले कुनै पनि ठुला योजना, आयोजना समयमै अघि बढ्न नपाएको दाबी गर्नुभयो ।
बजेट छुट्याएर योजना स्वीकृत भई ठेक्का लागेपछि बेमौसममा सरुवा गर्ने सरकारी अर्को प्रवृत्ति पनि विकासको बाधक भएको समितिका सभापति अधिकारीले बताउनुभयो ।
