काठमाण्डौ
कात्तिक ३०
प्रधानमन्त्री पुष्पकमल दाहालले सात जिल्लालाई कृषि क्षेत्रका ‘सुपरजोन’ बनाउन निर्देशन दिएका छन् । प्रधानमन्त्री दाहालले कृषिमन्त्री गौरीशंकर चौधरीलाई झापा, बारा, काभ्रे, कास्की, दाङ, जुम्ला र कैलालीलाई कृषि लागि विशेष ‘सुपरजोन’ क्षेत्र बनाउन निर्देशन दिनुभएको हो । प्रधानमन्त्री दाहालले प्रत्येक प्रदशेमा पर्ने गरी सात जिल्लामा एक–एक वटा ‘सुपरजोन’ बनाउन निर्देशन दिएको प्रधानमन्त्री दाहलको निजी सचिवालयले जनाएको छ ।
उहाँले झापामा धान, बारामा माछा, काभ्रेमा आलु, कास्कीमा तरकारी, दाङमा मकै, जुम्लामा स्याउ र कैलालीमा गहुँ खेतीका लागि सुपरजोन क्षेत्र बनाएर डेढ महिनाभित्र उद्घाटन गर्ने व्यवस्था मिलाउन कृषिमन्त्री चौधरीलाई निर्देशन दिनुभएको हो । सँगै दाहालले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालगायत कृषि मन्त्रालयका कामलाई युद्धस्तरमा सञ्चालन गर्न निर्देशन समेत दिनुभयो । प्रधानमन्त्री दाहालले कृषि विकास रणनीतिमा व्यवस्था भएअनुसार किसान आयोगको गठन गरिने जानकारी गराउँदै देशभरिको बाँझो जमिनको सदुपयोग गर्ने,द्वन्द्वपीडित, वैदेशिक रोजगारीमा गएर फर्किएका महिला लक्षित विशेष कार्यक्रम सञ्चालनका लागि मन्त्रालयले आवश्यक व्यवस्था गर्न पनि मन्त्री चौधरीलाई निर्देशन दिनुभएको छ ।
