एमाले उफ्रियो ५० लाख सम्झिएर !


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ कात्तिक २९ सोमवार १५:११ बजे

एमाले उफ्रियो ५० लाख सम्झिएर !

काठमाण्डौ
कात्तिक २९
संसद बैठकमा नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालालाई स्तन क्यान्सरको उपचारका लागि मन्त्रिपरिषद्बाट ५० लाख दिने निर्णयको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बिरोध गरेको छ । बैठकको विशेष समयमा बोल्दै एमालेका सांसद प्रकाश ज्वालाले कार्यविधी नै नबनाई मनलाग्दी तबरले राज्यकोषबाट रकम वितरण गरिएकाले त्यसले जनतामा नराम्रो सन्देश गएको बताउनुभयो ।

जनता सिटामोल नपाएर मरिरहेका बेला पहुँचवाला व्यक्तिलाई रकम दिने विषय एकदमै नकारात्मक रहेको उहाँले बताउनुभयो ।  वर्तमान सरकार गठन भएलगत्तै पूर्व राष्ट्रपति रामवरण यादवलाई ६० लाख रकम बाँडिएको, उहाँका सहयोगीलाई समेत रकम र भत्ता प्रदान गरिएको तर रोल्पाकी एक महिला उपचार रकमको अभावमा भैरहवामा निधन हुनु कसरी तालमेल भयो भन्दै सांसद ज्वालाले आपत्ति जनाउनुभयो ।
उपचार रकम नै दिनुपर्ने भए व्यवस्थित कार्यविधी बनाएरमात्रै दिन र मनलाग्दी तबरले राज्यकोषको रकम नबाँड्न उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो । यस्तै राप्रपा नेपालका सांसद दिलनाथ गिरीले पनि पहुँचका आधारमा राज्यकोषको रकम वितरण गर्ने प्रवृत्ति गलत भएको भन्दै स्वास्थ्यमन्त्रीले सदनलाई स्पष्ट पार्नुपर्नेमा जोड दिनुभयो । राष्ट्रिय जनमोर्चाकी सांसद मीना पुनले उपचारको अभावमा अस्पतालबाट हामफालेर मर्नुपर्ने, रोल्पाकी महिला उपचारको अभावमा मृत्युवरण गर्नुपर्ने तर पूर्वमन्त्रीजस्ता व्यक्तिलाई दबाबका आधारमा राज्यकोषबाट रकम दिने प्रवृत्ति गैरकानुनी र समानताको हकविपरीत रहेको बताउनुभयो । नेकपा (माले)का सांसद सिपी मैनालीले आवश्यकताका आधारमा मात्रै संविधान संशोधन गर्न आग्रह गर्नुभयो । उहाँले राज्यका महत्वपूर्ण पदमा अङ्गीकृत नागरिकलाई कुनै पनि स्थान दिन नहुने र हचुवाका आधारमा राज्य पुनःसंरचना गर्न नहुने धारणा व्यक्त गर्नुभयो । नेपाल मजदुर किसान पार्टीका सांसद अनुराधा थापामगरले आफ्नो सम्पत्ति भएकालाई राज्यकोषबाट रकम दिने व्यवस्था तत्काल अन्त्य गर्न आग्रह गर्नुभयो ।


प्रतिक्रिया

सम्बन्धित समाचार