काठमाण्डौ
कात्तिक १०
लोकमान प्रकरणलगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा आज बेलुका प्रमुख दलका शीर्ष नेताहरुको बैठक बस्दैछ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन तथा संसदमा पेस भएको लोकमानसिंह कार्की्विरुद्धको महाअभियोगलगायतका विषयमा परामर्श गर्न बैठक बोलाउनुभएको हो । बैठकको समय बेलुका छ बजे तय गरिएको छ । प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार चक्रपाणी खनाल (बलदेव) ले प्रधानमन्त्रीले संविधान संशोधनलगायतका विषयमा मुख्य दलहरुसँग छलफल गरेर साझा दृष्टिकोण बनाउन बैठक बोलाउनु भएको बताउनुभयो । लोकमानविरुद्ध एमाले र माओवादीका सांसदहरुले हस्ताक्षर गरे पनि सरकारमै रहेको अर्को दल कांग्रेसले औपचारिक निर्णय गरेको छैन । कांग्रेसको मौनताले गर्दा प्रधानमन्त्रीलाई समेत अप्ठ्यारो परेको छ । यो विषयमा प्रमुख दलका शीर्ष नेताहरु एकै ठाउँमा बसेर पहिलोपटक छलफल गर्न लागेका हुन् ।
लोकमान प्रकरण चर्किएपछि संविधान संशोधन आझेलमा परेको भन्दै मधेसी दलहरुले छठपछि कडा आन्दोलन गर्ने चेतावनी दिइरहेका छन् । यसबारेमा पनि दलहरुको धारणा बुझ्न र सहमति जुटाउन प्रधानमन्त्रीले शीर्ष बैठक बोलाउनुभएको हो ।
