काठमाण्डौ
कात्तिक ८
संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीविरुद्ध संसदमा दर्ता भएको महाअभियोगको प्रस्तावलाई कसरी अगाडी बढाउने भन्ने बारे पार्टीको आधिकारीक धारणा अहिलेसम्म बनाउन सकेको छैन ।
आज दिनभर बसेको नेपाली कांग्रेसको केन्द्रिय समिती बैठकमा महाअभियोगको प्रस्तावबारे मिश्रित धारणा आएको छ । केहिदिनदेखि नेपाली कांग्रेसले महाअभियोगको प्रस्तावलाई एजेण्डा बनाएर केन्द्रिय समितीमा छलफल चलाएपनि टुंगोमा पुग्न नसकेको हो । नेपाली कांग्रेसभित्र अधिकांश नेताहरुले लोकमानविरुद्धको महाअभियोगको प्रस्तावको पक्षमा पार्टी लाग्नुपर्ने बताउदै आएका छन् । यद्यपी आजको कांग्रेस बैठकमा महाअभियोग प्रस्तावको विपक्षमा उभिनुपर्ने धारणा समेत आएका छन् । महाभियोग प्रस्तावको पक्षमा उभिन कांग्रेसभित्र युवा नेताहरु गगन थापा,धनराज गुरुङ,विश्वप्रकाश शर्मा लगायतले शीर्ष नेतृत्वलाई दवाव दिदै आएका छन् । आजको बैठकमा नेता धनराज गुरुङले अहिले कसले संसदमा महाभियोग प्रस्ताव दर्ता गरायो भन्ने भन्दापनि प्रस्ताव पारित गर्नुपर्ने बताउनुभयो । त्यस्तै अर्का नेता चन्द्र भण्डारीले नेपाली कांग्रेस लोकमानसँग सती जान नहुने भन्दै लोकमानमार्फत् लोकतन्त्रमाथि नै प्रहार हुने खतरा बढिरहेको बेला जनमतको कदर गर्नुपर्ने बताउनुभयो । त्यस्तै,सुरेन्द्र पाण्डे,डिला संग्रौला लगायतले पनि महाभियोगको विपक्षमा जान नहुने बताएका छन् । तर, पुष्पा भुषाल, गुरु घिमिरे लगायतका अन्य केहि केन्द्रिय सदस्यहरुले महाभियोग प्रस्ताव नेकपा एमालेको अग्रसरतामा आएकोले कांग्रेसले यसमा विचार पुर्याउनुपर्ने बताएका छन् । उनीहरुले नेकपा माओबादी केन्द्र र नेकपा एमालेका केही नेताहरु अख्तियारको कार्वाहीमा पर्न लागेकाले उनीहरुले लोकमानविरुद्ध महाभियोग प्रस्ताव ल्याउको आरोप लगाएका छन् । दुई दिन स्थगित भएर सोमबार विहानदेखि सुरु भएको नेपाली कांग्रेसको बैठकमा केन्द्रीय सदस्यहरुले अख्तियार प्रमुख लोकमानसिंह कार्की्विरुद्ध आ–आफ्नो धारणा राख्ने क्रम जारी छ । गत बुधबार एमाले र माओवादीका १५७ जना सांसदहरुले संसदमा कार्की्विरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराएका थिए।
भ्रष्ट्राचार निवारण गर्ने निकायको प्रमुखको पदमा बसेर दादागिरी शैलीमा अदालतलाई समेत नटेर्ने कार्कीबारे कांग्रेसले के गर्ला भन्ने प्रतीक्षा भइरहेका बेला कांग्रेसले तत्काल यसबारे निर्णय नगर्ने पक्षमा नेताहरु उभिएका हुन् । यसबारे भोलिपनि केन्द्रिय समितीमा छलफल हुने कांग्रेसका मुख्य सचेतक चिनकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
