काठमाण्डौ
कात्तिक ८
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाअभियोगको प्रस्तावमाथि आधिकारिक धारणा तय गर्न नेपाली कांग्रेसले आजपनि केन्द्रीय समितिको बैठकमा छलफल गरिरहेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा नेताहरुले आ–आफ्ना भनाई राखिरहेका छन् ।
यसअघि दुई दिनसम्म चलेको केन्द्रीय समिति बैठकमा बोल्नेहरुबाट मिश्रित धारणा आएपछि कांग्रेसले यसबारे अहिलेसम्म कुनै निर्णय लिन सकेको छैन । महाअभियोग प्रस्ताव दर्ता भएपछि सुरु भएको काग्रेस बैठकमा महाअभियोग र त्यसपछि उत्पन्न हुन सक्ने राजनीतिक घटनाक्रमका बारेमापनि छलफल हुने नेताहरुले बताएका छन् ।
संविधान संशोधन, स्थानीय निकायको पुनर्संरचनामा पार्टीको धारणा, पदाधिकारी नियुक्ती लगायत विषयमा छलफलका लागि बैठक बोलाइएको भएपनि लोकमानविरुद्ध संसदमा महाअभियोग दर्ता भएपछि यो छलफल मुख्य विषय बनेको छ ।
यसअघि महाअभियोग प्रस्ताव दर्ता गराएका नेकपा एमाले र नेकपा माओबादी केन्द्रले भने महाअभियोग प्रस्ताव पारित गर्न भूमीका निर्वाह गर्ने निर्णय गरिसकेका छन् । कार्की विरुद्ध परेको महाअभियोग प्रस्तावमाथी भोलीबाट व्यवस्थापिका संसदमा छलफल गर्ने कार्यसूची छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको नेकपा माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी नेकपा एमालेका १ सय ५७ सांसदहरुले अघि बढाएको महाभियोग प्रस्ताव पारित हुन संसदको सबैभन्दा ठूलो दल कांग्रेसको समर्थन अनिवार्य छ ।
