काठमाण्डौ
कात्तिक ६
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्तावबारे साझा धारणा तय गर्न प्रमुख दलहरु औपचारिक तथा अनौपचारिक छलफलमा जुटेका छन् ।
खासगरी सत्तारुढ माओवादी र मुख्य विपक्षी दल नेकपा एमाले महाअभियोगको प्रस्ताव पारित गराउने विषयमा साझा धारणामा देखिएका छन् । अर्को सत्तासाझेदार दल नेपाली कांगेस महाअभियोगप्रति सकारात्मक देखिएपनि महाअभियोग प्रस्ताव दर्ता गराउनुअघि आफुसँग छलफल नगरिएकोप्रति असन्तुष्ट देखिएको छ । यद्यपी लोकमानविरुद्धको महाअभियोगको पक्षमा उभिनुपर्नेमा कांग्रेसका अधिकांश नेताहरुले जोड दिएका छन् । अस्ति बिहिबारबाट सुरु केन्द्रीय समिति बैठकमा पूर्वनिर्धारित विषयमा छलफल नै सुरु नगरी कांग्रेसले लोकमानविरुद्धको महाअभियोग प्रस्तावमाथी छलफल गरिरहेको छ । औपचारिक रुपमा निर्णय नगरेपनि कांग्रेसले महाअभियोगको पक्षमा उभिने प्रष्ट संकेत गरेको हो ।
