काठमाण्डौ
कात्तिक ४
एमाले संसदीय दलको बैठकले आइतबारदेखि सबै सांसदलाई नियमित रुपमा संसदमा उपस्थित हुन निर्देशन दिएको छ । आज बसेको पार्टी संसदिय दलको बैठकले संसदमा दर्ता भएको अख्तियार प्रमुख लोकमानसिंह कार्की्विरुद्धको महाअभियोग प्रस्ताव सफल बनाउन सबै सासदलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएको हो ।
व्यवस्थापिका संसद्मा दोस्रो ठूलो दल एमालेले तेस्रो दल नेकपा माओवादी केन्द्रसँग मिलेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त कार्की्विरुद्ध हिजो संसद् सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गराएको थियो । यसमा एमालेका १ सय ७ र माओवादी केन्द्रका ५० जना सांसदले हस्ताक्षर गरेका छन् । संसदीय दलको आज नयाँ बानेश्वरमा बसेको बैठकमा एमालेले महाअभियोग प्रस्तावमा हस्ताक्षर नगरेका सांसदलाई हस्ताक्षर गर्न पनि निर्देशन दिएको दलका प्रमुख सचेतक भानुभक्त ढकालले जानकारी दिनुभयो । बैठकमा दलका अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता माधव नेपाल, नेता झलनाथ खनालको पनि सहभागिता थियो । यस्तै बैठकले अख्तियार प्रमुख कार्कीविरुद्धको महाअभियोग प्रस्ताव पारित गराउने गरी अन्य दलहरुसँग छलफल गर्ने निर्णय गरेको छ ।
